
पारीश्वर न्यौपाने, वालिङ-१३ स्याङजा
छिन् छिन् चुरा बज्नै छाडे चुलोचौको गर्दाखेरि
युवा गाउँमा भेटिदैनन् मलाम जानु पर्दाखेरी
धौले घरको आँगन पुरै ढाकेको छ बनमाराले
झिटी गुन्टा बोकी सबै सहरतिर सर्दाखेरी
शुन्य हुदै गएका छन् गाँउ वस्तीहरु अचेल
टिपी खाने बच्चा छैनन् आँप पाकी झर्दाखेरी
सोचे जस्तै यो देशको कहिले होला समुन्नति?
विकासको बजेट सबै कनिका झै छर्दाखेरी
आकाश छोयो महँगीले,बेरोजगारी उस्तै यहाँ
देश बनाउन गएकाले आफ्नै भुँडी भर्दाखेरी
देशै चुसी विदेशमा राखेकाछौ धनसम्पत्ति
छोडी सबै जानै पर्छ,के लान्छौ र मर्दाखेरी?