वालिङ, ८ चैत्र । वालिङ नगरपालिकाले विश्व क्षयरोग दिवसको अवसरमा क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क क्षयरोग जाँच शिविर गर्ने भएको छ । नगरपालिकाले सन २०५० सम्ममा नेपालमा क्षयरोग अन्त्य घोषणा गर्ने अभियान अन्तर्गत क्षयरोगी पहिचान र उपचारको काम तिव्ररुपमा सन्चालन गरिरहेको छ ।
नगरपालिकाले स्वास्थ्यकर्मी गाउँमै गएर क्षयरोगका बिरामीको पहिचान गरी थप स्वास्थ्य उपचार र सल्लाह दिन क्षयरोग सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको वालिङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कमल पाण्डेले जानकारी दिए । क्षयरोगी पत्ता लगाउन र उपचार गर्न वालिङ नगरपालिकाले दैनिकरुपमा नगर अस्पतालवाट खकार परिक्षण र उपचार सेवा प्रदान गरिरहेको जानकारी दिए । अब गाँउ गाँउमा पुगेर क्षयरोग पत्ता लगाउने कार्यक्रम सुरु गरिएको पाण्डेले जानकारी दिए ।
सूष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका उनले बताए । यसको प्रमुख कारण खानपानमा ध्यान नदिनु र विलाशी जीवनशैली हो । स्वास्थ्य प्रमुख पाण्डेले भने ”स्वास्थ्य सेवालाई थप प्रभावकारी गराउन गाँउवाट क्षयरोग परिक्षण कार्यक्रम सुरु गरिएको छ । “
हो, हामी क्षयरोग अन्त्य गर्छौ भन्ने मुल नाराका साथ अभियान सन्चालन गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।