स्याङ्जा- ९, चैत्र ।
श्रीमानको कुटाइबाट गम्भिर घाइते भएकी स्याङ्जा पुतलीबजार नगरपालिका १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा निधन भएको छ ।
गत माघ २२ गते राती श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेको कुटाइबाट गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा काठमाडौमा निधन भएको प्रहरीले जनाएको छ ।
गाउँलेले कमलालाई नदेखेपछी सोधखोज गर्दा आफ्नै घरमा श्रीमानको कुटाइबाट बेहोस अवस्थामा भेटेपछि गाउलेको सहारामा अस्पताल लगिएको थियो । पोखरा हुँदै काठमाडौ नर्भिक अस्पतालमा उनको उपचार भइरहेको थियो ।
कुटपिटमा संलग्न श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेलाई यस अघि नै प्रहरीले नियन्त्रण लिएको थियो । जिल्ला अदालत स्याङ्जाले जेठाजु केशवराजलाई २ लाख धरौटीमा छोडेको छ भने श्रीमान लक्ष्मीप्रसाद लाई पुर्पक्षकाका लागि जिल्ला कारागार चलान गरेको छ । उनीहरू दुवैलाइ हत्या अभियोगमा कारवाही गर्न कमलाको आफन्त र परिवारले माग गरेका छन् ।