वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न बजाउन निषेध गरिँदैछ । अब अनावश्यक रुपमा हर्न बजाए कारवाही गरिने वालिङका ट्राफिक प्रहरी प्रमुख कुल हरिजनले हिमदुतखबरलाई बताए ।
आवश्यक र जरुरी अवस्थामा हर्न बजाउन पाइनेछ । ‘अब जोखिमयुक्त ओभरटेक गर्नका लागि पनि हर्न बजाउनेहरु पनि कारवाहीमा पर्छन्’ हरिजन भने, ‘अनावश्यक रुपमा बजाइने हर्नविरुद्ध ट्राफिक प्रहरी छ ।’
साथी भेट्दा होस् वा जाममा पर्दा होस्, हर्न बजाउनेहरु पनि छन् । उनीहरु पनि कारबाहीमा पर्ने छन् ।
अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरीले जरिवाना गर्नेछ । यस्ता कारवाहीको रेकर्ड पनि राखिने छ ।
यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।
ट्राफिक प्रहरीका अनुसार सार्वजनिक, सरकारी, पर्यटकबाहक र निजी सवारीले भने दुई अवस्थामा मात्रै हर्न बजाउन पाउनेछन् । सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । जोखिमयुक्त मोड र चोकहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।
‘अनावश्यक रुपमा हर्न बजाउनेलाई कारवाही हुन्छ । तर, सडकमा दुर्घटनाको जोखिम हुँदा बजाइएको हर्नमा हामी कडाइ गर्दैनौं’ ट्रापिक प्रमुख हरिजन भने, ‘हामीले हर्नलाई पुरा निषेध गर्न खोजेका हैनौं । तर, आवश्यक नै नहुँदा पनि हर्न बजाउनेलाई आँखा चिम्लिएर छाड्दैनौं ।’