गल्याङ, २२ असार । अनुदानवाट भन्दा बजारवाट आत्मनिर्भर हुन नगरवासीलाई गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीले आग्रह गरेका छन् । अनुदान पाउने भन्दा पनि बजारको सुनिश्चितका विषयमा कृषकले बढि जोड दिनुपर्ने उनको भनाइ छ ।
कृषकको जीवनस्तर उकास्न नगरपालिकाले दिएको अनुदानको सहि सदुपयोग गरी आफ्नो उत्पादनलाई बजार सम्म पुर्याउन सकेमात्र कृषकको आयस्रोत वढने हुँदा कृषकलाई त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् । आइतवार तुल्सीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा गरिएको सिप विकासमा तरकारी खेती तालिम समापन कार्यक्रममा नगरप्रमुख अधिकारीले उक्त धारणा व्यक्त गरेका हुन् ।
नगरप्रमुख अधिकारीले भने –‘हामीले किसानलाई उत्साही बनाउनका लागि थुप्रै अनुदानका कार्यक्रम ल्याएका छौं । सँगै बजारको ग्यारेण्टी पनि गरेका छौं ।’
अनुदानमुखी भन्दा पनि बजारमुखी कार्यक्रम सोच्नुपर्ने वेला आएकोले त्यसैमा नगरपालिकाले जोड दिइएको उनले जानकारी दिए । नगरपालिकाले विगतमा दुधमा दिइदै आएको प्रतिलिटर १५ रुपैयाँको अनुदानलाई आगामी वर्ष पनि निरन्तरता दिइएको जानकारी दिए ।
नगरप्रमुख अधिकारीले कोरोना भाइरसका कारण एक वर्षमा एक अर्बको वस्तु निर्यात गर्नेयोजना पुरा हुन नसकेको वताउदै उनले आगामी दिनमा तीन वर्षे र पाँच बर्षे योजना ल्याउने भन्दै तीन बर्षमा दुई अर्बको वस्तु निर्यातको योजना अगाडी सारिएको वताए ।
पर्यटन र कृषि लाई जोड्नुको विकल्प नभएको उल्लेख गर्दै उनले सम्बृद्व नगर निर्माणका लागि कृषि क्षेत्रलाईनै नगरले प्राथमिकतामा राखिएको जानकारी दिए । यसका लागि बाख्रा, अण्डा तथा बङ्गुरमा आत्मनिर्भर वनाउन समूह एवम् सहकारीसँगको समन्वय प्रभावकारी हुने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दलबहादुर सिंजालीले तालिममा सिकेका सिपको सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिब ढकाल, प्रशिक्षक लालकुमार शर्मा लगायतले कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक शम्भुनारायण अधिकारीले गरेका थिए ।