
वालिङ १८ भदौ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित र कतिपय बेपत्ता भएको घटनाप्रति ऐक्यबद्धता जनाउँदै स्याङ्जाको वालिङ नगरपालिका–१ बाट राहत सहयोग जुटाइएको छ।
वालिङ नगरपालिका–१ का जनप्रतिनिधिहरूको पहलमा वडा क्षेत्रभित्रका टोल विकास संस्था, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट संयुक्त रूपमा संकलन गरिएको रु. ५ लाख ५५ हजार ५ सय ५५ प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार राहत कोषमा जम्मा गरिएको हो।
संकलित रकम वडा कार्यालयमार्फत राहत कोषमा जम्मा गरेपछि सहयोगी व्यक्ति तथा संस्थालाई धन्यवाद तथा प्रशंसापत्र प्रदान गर्न घोषणा सभा आयोजना गरिएको वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिए।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले विपद्को पीडामा रहेका परिवारलाई राहत पुर्याउने उद्देश्यले वडा कार्यालय मार्फत गरिएको सहयोग प्रशंसनीय रहेको बताए।
विपद्को समयमा स्थानीय तह, नागरिक तथा विभिन्न संघसंस्थाबीचको सहकार्यले पीडितलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रममा वडा जनप्रतिनिधि, वडाभित्रका विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, सहयोगी व्यक्ति तथा संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत तथा सहयोग जुटिरहेको अवस्थामा वालिङ–१ का नागरिकले समेत सामूहिक रूपमा सहयोग रकम संकलन गरी राहत कोषमा जम्मा गरेका हुन्।