
स्याङ्जा, ३० – कार्तिक । पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक रेडियो स्याङ्जा एफएम र स्याङ्जा टेलिभिजनको सहजीकरण तथा व्यवस्थापनमा पुतलीबजार–८ बहाकोटस्थित क्रान्तिचौतारीमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा चौमासिक अवधिमा भएका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य तथा रोजगारीका मुद्दाबारे विस्तृत प्रगति सार्वजनिक गरिएको थियो।
कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मीले सेवा प्रवाहमा कुनै कर्मचारीबाट नागरिकले दुःख पाएको खण्डमा तत्काल जानकारी गराउन आग्रह गर्दै यस सम्बन्धमा कडासाथ कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नगर सुधारमा प्रमुखको भूमिकासँगै नागरिक, जनप्रतिनिधि तथा कर्मचारीको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै “रचनात्मक सुझावहरूलाई प्राथमिकताका साथ लागू गर्दै जाने” प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले कार्यालयले गरेको समग्र प्रगतिबारे जानकारी दिँदै अघिल्लो वर्षको तुलनामा विकास निर्माणका कार्यक्रममा उल्लेखनीय सुधार भएको बताए। कार्यालयको तर्फवाट भए गरेका कमी कमजोरीलाई नगरवासीले सोझै कार्यालयमा आएर सुझाउ दिन समेत आग्रह गरेका थिए ।
राजनीतिक दलतर्फ नेपाली कांग्रेस पुतलीबजारका नगरसभापति सुरजकुमार अधिकारी तथा नेकपा एमालेका प्रतिनिधि राधाकृष्ण शर्माले नगरपालिकाले समयअनुसार प्रगति गरिरहेको मूल्यांकन गर्दै नागरिकको माग तथा प्राथमिकताअनुसार अझ प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको सुझाव राखे।
कार्यक्रममा स्थानीय सरोकारवालाहरू गौतमसिंह ठकुरी, प्रेमबहादुर खाँण, रामचन्द्र पोखरेल, जवानसिंह गुरुङ, भुवन शाही, रनमाया थापा, जीवन शाही, सुभि थापा, टेककुमारी नेपाली, आइबहादुर गुरुङ, खुमबहादुर दर्जी, थपकुमारी राना, धीरज ठकुरी लगायतले जिज्ञासा, सुझाव र समस्या प्रस्तुत गरेका थिए।

सुनुवाइमा प्रशासन शाखा प्रमुख धनप्रसाद कोइरालाले कार्यक्रमको उद्देश्य प्रस्तुत गर्दा योजना शाखा प्रमुख डोलराज ढकालले चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए। नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले गरेका थिए। कार्यक्रममा वडा अध्यक्ष इमबहादुर सेनले स्वागत तथा धन्यवाद मन्तव्य प्रस्तुत गरेका थिए।