
स्याङ्जा -९ कार्तिक ।
स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्यलाई सबल बनाउन र नसर्ने रोगबाट बचाउनका लागि कार्यक्रम सुरु गरिएको वालिङ नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । उहाँले भन्नुभयो, “नसर्ने रोगबाट सजिलै बच्न सकिने उपायहरू छन् तर समयमा नै जानकारी नहुँदा नागरिकले अकालमा ज्यान समेत गुमाउनु परेको छ ।”
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिका बिच कार्यक्रम सञ्चालन गर्ने सहमतिमा हस्ताक्षर भएसँगै स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु भएको हो । स्वास्थ्य सेवा विभाग र नगरपालिकाको लागत साझेदारीमा कार्यक्रम सञ्चालन हुने प्रमुख खाँणले जानकारी दिनुभयो ।
नगरपालिकाका १४ वटै वडामा सञ्चालन हुने यो कार्यक्रममा १४ जना स्टाफ नर्स परिचालन गरिने नगरपालिकाले जनाएको छ । नगरको चौतर्फी विकासको लागि सक्षम नागरिक आवश्यक पर्ने उल्लेख गर्दै सक्षमताको लागि स्वास्थ्य पहिलो आवश्यकता रहेकोले स्वास्थ्य सबलताको लागि नगरले पहलकदमी चालेको नगरप्रमुख खाँणको भनाइ छ ।