
रामपुर, पाल्पा ।
राजनीतिमा पनि फुटबल खेलमा जस्तै अनुशासन र लक्ष्यप्रति प्रतिबद्धता आवश्यक हुने स्याङ्जा काँग्रेसका युवा नेता शेषकान्त पुरीले बताएका छन्। फुटबलमा गोल नै जितको प्रतीक हुने भएकाले राजनीतिमा पनि गोल गर्न सक्ने क्षमता, अनुशासन र रणनीति आवश्यक रहेको उनले बताएका हुन्।
रामपुरस्थित ज्योतिपुञ्ज युवा क्लबद्वारा आयोजित तेस्रो “वाईवाई ज्योतिपुञ्ज कप” फुटबल प्रतियोगिताको समापन कार्यक्रममा प्रायोजकको तर्फबाट बोल्दै पुरीले राजनीति र खेल दुवैमा जनताको भावना, लगन र नेतृत्वको महत्त्व समान हुने उल्लेख गरे। उनले राजनीतिमा पनि खेलाडीको अनुशासन, प्रतिस्पर्धा र सहकार्यको भावना अपनाउन सके मात्र समाज परिवर्तन सम्भव हुने बताए।
कार्यक्रममा बोल्दै उनले चापाकोट र रामपुरवासीलाई प्रत्यक्ष असर पार्ने गरी प्रस्ताव गरिएको कालीगण्डकी डाइभर्सन योजना कसैको राजनीतिक स्वार्थका कारण स्वरूप परिवर्तन गर्न नदिइने स्पष्ट पारे। “जनताको हितविपरीत हुने कुनै पनि कार्य सह्य छैन, डाइभर्सन परियोजनाको नाममा कसैले स्वार्थ खेल्न खोजे रोकिनेछ,” पुरीले दृढताका साथ भने।

पुरीले उक्त प्रतियोगितामा दोस्रो पुरस्कारका रूपमा दुई लाख रुपैयाँको प्रायोजनसमेत गरेका थिए। उनले युवाहरूलाई खेलकुदमार्फत अनुशासित, जिम्मेवार र समाजप्रति समर्पित बन्न आग्रह गरे।
उनका अनुसार खेलले युवामा सकारात्मक सोच, सहकार्य र नेतृत्व क्षमता विकास गर्छ, जुन गुण राजनीति र सामाजिक सेवामा अत्यावश्यक हुन्छ।
ज्योतिपुञ्ज क्लबले आयोजना गरेको प्रतियोगिताले रामपुर र आसपासका युवाबीच मित्रता र खेलभावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजक समितिले जनाएको छ।