
स्याङ्जा, भीरकोट १८ साउन । बालबालिकालाई अधिकार सम्पन्न, सुरक्षीत र सक्षम बनाउने लक्ष्यसहित भीरकोट नगरपालिका बालमैत्री नगरका रुपमा स्थापित भएको छ। २०७७ साल फागुन २२ गते भीरकोटलाई आधिकारिक रूपमा बालमैत्री नगरपालिका घोषणा गरिएको थियो। त्यसयता नगरपालिकाले बाल अधिकार संरक्षण तथा प्रवर्द्धनका विविध कार्यक्रमहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्दै आएको छ।
एसईई परीक्षा दिएर बसेका बालबालिकाको लागि भविष्य निर्माणका अवसर सिर्जना गर्न कम्युटर शिक्षामा नगरपालिकाले विशेष पहल गर्दै आएको छ। त्यसैअनुसार, आँधीखोला बहुप्राविधिक शिक्षालयमा नगरका ८ जना बालबालिकालाई प्राविधिक शिक्षा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले हरेक आर्थिक वर्षमा बालबालिकासम्बन्धी कार्यक्रमका लागि छुट्टै बजेट विनियोजन गर्ने परम्परा बसालिसकेको छ। ‘मेयरसँग वालबालिका कार्यक्रम’ मार्फत बालबालिकाले आफ्ना आवश्यकता, समस्या र सुझावहरू प्रत्यक्ष रूपमा नगर प्रमुखसमक्ष राख्न पाउने अवसर पाउँछन्। यस कार्यक्रमले वालवालिकालाई बोल्न सिकाउने, आत्मविश्वास बढाउने र उनीहरूलाई सुन्ने संस्कार विकास गर्ने वातावरण तयार गरेको नगर प्रमुख गोविन्द कर्मचार्यले वताए ।
समुदाय स्तरसम्म पुगेर बालबालिकाका लागि नियमित खोप, पोषण, शिक्षा, स्वच्छता लगायतका सेवा प्रवाहमा नगरपालिका सक्रिय छ। विद्यालयहरूमार्फत बालमैत्री कक्षा र वातावरण निर्माण गर्नेतर्फ समेत ध्यान दिइएको छ।
बालबालिकाको हक र हित सुनिश्चित गर्दै समावेशी र सुरक्षित समाज निर्माण गर्ने भीरकोट नगरपालिकाको अभ्यास अन्य स्थानीय तहहरूका लागि समेत अनुकरणीय बनेको छ।