
स्याङ्जा, साउन १२ । फेदीखोला गाउँपालिका–१, स्याङ्जामा रहेको अमोर सेवा नेपालद्वारा सन्चालित बालगृहमा रहेका बालबालिकाको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने र समग्र विकासमा सहयोग पुर्याउने उद्देश्यले कर्मचारी मिलन केन्द्र स्याङ्जाले रु १ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको छ।
आईतवार बसेको केन्द्रको बैठकले बालगृहको व्यवस्थापन र वर्तमान अवस्था अवलोकनपछि सहयोग गर्ने निर्णय गरेको हो। केन्द्रका अध्यक्ष थमनारायण अर्यालले बालगृहमा आश्रित बालबालिकाको जीवनस्तर सुधार तथा शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको जानकारी दिए ।
“अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहको अवस्था र व्यवस्थापन पक्ष सकारात्मक रहेको पाइएकोले हामीले उक्त सहयोग गर्ने निर्णय गरेका हौं,” अध्यक्ष अर्यालले हिमदुत डट कमसंगको कुराकानीमा जानकारी दिए ।
कर्मचारी मिलन केन्द्र स्याङ्जाका संरक्षक तथा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सामाजिक क्षेत्रमा केन्द्रले गरेको यस्तो सकारात्मक कार्यले समाजमा फरक सन्देश पुग्ने वताए । प्रजिअ अर्यालले भने, “बालगृहको वातावरण र आर्थिक अवस्था हेर्दा सहयोगको खाँचो देखिन्थ्यो, यस्ता कामहरूबाट संस्थागत मानवीय भावना अझै विस्तार हुन्छ।”
यस सहयोगले बालगृहमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।