
स्याङ्जा, असार १० ।
पुतलीबजार नगरपालिका–५, गौंडेमा निर्माण सम्पन्न पौवैखोला पुलको समुद्घाटन गरिएको छ। बाड्खोला–दुलेगौंडे सडक खण्डमा पर्ने सो पुलको उद्घाटन गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बहादुर प्रकाश के.सीले शनिवार एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।
पूर्वाधार विकास कार्यालय, स्याङ्जाको आयोजना र पुतलीबजार नगरपालिका–५ को समन्वयमा सम्पन्न कार्यक्रममा मन्त्री केसीले तोकिएको समयभन्दा आठ महिना अगावै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएकोमा निर्माण कम्पनीलाई धन्यवाद दिएका थिए । मन्त्री केसीले पोखरा –दुलेगौंडा मार्गको वैकल्पिक बाटोका रूपमा पौवैखोला पुलले स्थानीय आवतजावतमा सहजता ल्याउनुका साथै आर्थिक क्रियाकलापमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
“सानो भए पनि यो पुलले स्थानीय जनताको जीवनमा ठुलो परिवर्तन ल्याउनेछ। यहाँको आर्थिक गतिविधि र आवागमन अझ सुलभ हुनेछ,” मन्त्री केसीले भने।
सो अवसरमा गण्डकी प्रदेशका सांसद एवं राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ, सार्वजनिक लेखा समितिका सभापति एवं प्रदेश सांसद सुधिर पौडेल, सांसद तथा पूर्वमन्त्री सीता सुन्दास, सांसद कल्पना तिवारी, जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, उपप्रमुख खड्गराज सुवेदी, पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्याल, पूर्व नगरप्रमुख सीमा कुमारी क्षेत्री, मन्त्रालयका सचिव कमलकुमार अधिकारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीका अनुसार पुलको लम्बाइ १५.६ मिटर र चौडाइ ८.४ मिटर रहेको छ। १ करोड ७५ लाख ६९ हजार ३३ रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको उक्त पुल राङखोला सिद्धबाबा निर्माण सेवा कम्पनीले निर्माणको जिम्मा लिएको थियो। निर्माणमा स्थानीय सडक पुल सहयोग इकाईले प्राविधिक सहयोग पुर्याएको जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए । भने, वडा सदस्य तथा पुतलीबजार नगरपालिका लेखा समितिका संयोजक सन्तोष रेग्मीले स्वागत मन्तव्य र वडा सचिव राजेश पुरीले सञ्चालन गरेका थिए ।
पुल सञ्चालनमा आएपछि पुतलीबजार क्षेत्रको यातायातमा थप सहजता आउने र क्षेत्रको समग्र विकासमा योगदान पुग्ने स्थानीयवासीको विश्वास छ।