
स्याङ्जा, साउन १ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्जा जिल्लामा सञ्चालित विभिन्न कार्यक्रमहरूको संयुक्त अनुगमन गरिएको छ। परियोजना कार्यान्वयन इकाई स्याङ्जाले आर्थिक वर्ष २०८१/०८२ का गतिविधिको अनुगमन गर्ने क्रममा वालिङ र गल्याङ क्षेत्रका कृषि उद्यमहरूमा स्थलगत निरीक्षण गरिएको हो।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख थमनारायण अर्याल, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र, उद्योग पर्यटन कार्यालय तथा कृषि विकास स्रोत केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
वालिङ नगरपालिका–१२ स्थित घोसरथुङकी २९ वर्षीया सीता थापाद्वारा एकलरूपमा सञ्चालित ‘छहरेखोला कृषि तथा पशुपंछी फर्म’ को निरीक्षण गरिएको थियो। उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उद्यमशीलता विकास कार्यक्रममार्फत ३ लाख १४ हजार रुपैयाँ अनुदान पाई ७० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिरहेको जानकारी दिइन्। “५० प्रतिशत अनुदान सहयोगले व्यवसाय विस्तारमा ठूलो सहयोग पुगेको छ। स्वदेशमै कृषि पेशा अपनाउँदा विदेश जानु नपर्ने अनुभव गरेको छु,” थापाले भनिन्।
यसैगरी, वालिङ नगरपालिका–११ मा हरिप्रसाद पंगेनीद्वारा सञ्चालित ‘भगवती पशुपालन तथा कृषि फर्म’ मा पनि अनुगमन गरिएको थियो। भैंसी जोन कार्यक्रमअन्तर्गत उनले २ लाख ५० हजार रुपैयाँ अनुदान पाई ५ वटा उन्नत जातका भैंसी थप गरि हाल १४ वटा भैंसी पाल्दै आएका छन्। “विगतमा सरकारी अनुदान पहुँचविहीन अवस्थामा सीमित हुन्थ्यो, तर अहिले वास्तविक कृषकलाई टेवा मिलिरहेको छ,” उनले बताए।
अनुगमन टोलीले गल्याङ नगरपालिका–११ स्थित जिमुहाँ शीत भण्डार सहकारी संस्था लिमिटेडमा निर्माणाधीन बीउ स्रोत घरको समेत निरीक्षण गरेको थियो। धान, मकै, गहुँ लगायतका बीउ भण्डारणका लागि निर्माण गरिएको उक्त भवनको लागत १४ लाख ९३ हजार रुपैयाँ रहेको छ। परियोजनाबाट ८५ प्रतिशत अनुदान तथा सहकारीको १५ प्रतिशत लगानीमा निर्माण गरिएको बीउ स्रोत घरले स्थानीय उत्पादनको भण्डारणमा योगदान पुर्याउने स्थानीयले बताए।
जिम्मुहाँ शीत भण्डार सहकारीले आलु, धान, मकै, गहुँ लगायतका बीउ उत्पादन र भण्डारण गर्दै आएको छ। तथापि हालको संरचनाले आवश्यकता अनुसार बीउ भण्डारणमा केवल ५० प्रतिशत मात्र धान्न सक्ने जनाइएको छ।
स्थलगत निरीक्षणपश्चात अनुगमन टोलीले परियोजनाका कार्यक्रमहरू कृषकमुखी बन्दै गएको र उत्पादन लागत कम गर्न अनुदान सहयोग निकै प्रभावकारी वनेको निष्कर्ष निकाल्दै आगामी दिनमा अझ प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको ओैल्याईएको थियो ।
स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत सुन्तला सुपरजोन, भैंसी जोन, आाँप लिचि जोन, मसलावाली जोन र उद्दमशिलता विकास कार्यक्रम मार्फत कृषकलाई प्राविधिक र आर्थिक सहायता गर्दै आईरहेको कृषि विकास अधिकृत प्रतिभा केसीले जानकारी दिईन ।