
स्याङ्जा १ साउन । पूर्वाधार, व्यवस्थापन र छात्रवृत्तिमा अब्बल रहेको वालिङ नगरपालिका–१३ स्थित आँधीखोला बहुप्राविधिक शिक्षालयमा ३ वर्षे डिप्लोमा कार्यक्रम अध्ययनका लागि भर्ना खुला गरिएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत सञ्चालनमा रहेको शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन आइटी इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा छन्।
हालै सार्वजनिक भएको एसईई परीक्षाको नतिजापछि प्राविधिक शिक्षामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि साउन ११ गतेसम्म भर्ना फारम बुझाउन सकिने व्यवस्था गरिएको छ।
देशमा प्राविधिक जनशक्तिको माग बढ्दै गएको सन्दर्भमा कम समयमा दक्षता हासिल गरी रोजगारी र स्वरोजगारका अवसर सुनिश्चित हुने शिक्षाको रुपमा प्राविधिक शिक्षा लोकप्रिय बन्दै गएको छ। यस्तो शिक्षालाई सबै पहुँचमा पुर्याउने उद्देश्यले शिक्षालयले गुणस्तरीय शिक्षासँगै होस्टल सुविधा, प्रयोगात्मक सिकाइ र अनुभवी प्रशिक्षकको व्यवस्था मिलाएको जनाएको छ।
विद्यार्थीको आकर्षण बढाउन वालिङ नगरपालिकाले आफ्ना सबै १४ वडाबाट २–२ जना गरी २८ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरेको छ। यस्तै, भीरकोट नगरपालिकाले पनि ६ जना विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको शिक्षालयका लेखा प्रमुख अशोक गैह्रेको भनाइ छ।
शिक्षालयका शैक्षिक कार्यक्रम संयोजक नवराज पौडेलका अनुसार जिल्लाभित्र प्राविधिक जनशक्तिको माग उच्च भए पनि अभिभावक र विद्यार्थीमा अझै पनि प्राविधिक शिक्षाप्रति चेतना अभाव देखिन्छ। त्यसैले स्थानीय तहसँग सहकार्य गर्दै प्रचारप्रसार र अभिमुखीकरण कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
शिक्षालयले आगामी दिनमा विद्यार्थीलाई प्राविधिक शिक्षाको महत्त्वबारे जानकारी गराउँदै सुलभ र प्रभावकारी शिक्षाका कार्यक्रमलाई थप सशक्त बनाउने जनाएको छ।
