स्याङ्जा, असार ३१ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाद्वारा आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएका कार्यक्रमहरूको स्थलगत निरीक्षण गरिएको छ।
केन्द्रको आयोजनामा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी, प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल, प्रहरी कार्यालयका प्रमुख दधिराम न्यौपाने, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख, पत्रकारहरू लगायतको टोलीले जिल्लाका विभिन्न पशुपालन फर्म र समूहहरूको अवलोकन गरेका हुन्।
निरीक्षणका क्रममा टोलीले स्याङ्जाकै प्रसिद्ध ईन्देणी वंगुर फर्म, चापाकोटस्थित सिद्दवावा एग्रो फर्म, तथा चापपाकोट–६ स्थित केलादी दुग्ध उत्पादन समूहको भ्रमण गरेको थियो। फर्म सञ्चालकहरूले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रबाट प्राप्त प्राविधिक सहयोग तथा सेवा प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।

ईन्देणी वंगुर फर्मका सञ्चालक कृषक भीम लुईटेलले सरकारी निकायको प्राविधिक सहयोगले व्यवसाय सञ्चालनमा उल्लेख्य मद्दत पुगेको बताउँदै सेवा प्रति सन्तुष्टि व्यक्त गरे। अन्य कृषकहरूले समेत अनुदानभन्दा सहुलियतपूर्ण ऋण, पशु बीमा तथा बीमासम्बन्धी प्रक्रियामा सहजता आवश्यक रहेको धारणा राखेका थिए।

पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रूपेश श्रेष्ठले चालू आर्थिक वर्षमा केन्द्रले ४ करोड ५४ लाख चालू र ७० लाख पुँजीगत बजेटमध्ये ८२.६३ प्रतिशत खर्च भएको जानकारी दिएका छन्। पशुपालन व्यवसायलाई व्यावसायिक बनाउँदै कृषकको आयवृद्धि गर्ने लक्ष्यसहित सेवा प्रवाह भइरहेको श्रेष्ठको भनाई थियो ।
स्थलगत निरीक्षणका क्रममा सहभागी टोलीले कृषकहरूको सक्रियता, फर्महरूको व्यवस्थापन र केन्द्रको सेवा प्रभावकारिता लगायतका विषयमा निरिक्षण गरिएको जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटिले जानकारी दिएका छन्