
स्याङ्जा, असार २४ । स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमबहादुर मानन्धर र प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलबीच उत्पन्न विवाद जिल्ला समन्वय समितिको पहलमा समाधान गरिएको छ।
गएको दिन पालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै कुटपिट गरेको घटनाले चर्चाको विषय बनेको थियो। अध्यक्षले सम्झौता विपरीतको रकम भुक्तानी गर्न दबाब दिँदा प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया नपुगेको भन्दै रोक लगाएपछि विवाद उत्पन्न भएको थियो। विवादले कामकाज प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समितिको संयुक्त टोली घटनास्थल पुगेको हो।
जिल्ला समन्वय समितिका उपप्रमुख खड्कराज सुवेदीको नेतृत्वमा गएको टोलीले अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूसँग समन्वय गरी विवाद समाधान गरेको हो। समन्वय पश्चात् असार मसान्तका भुक्तानीहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र सम्बन्धित कानुनी प्रक्रियाअनुसार अघि बढाउने सहमति दुवै पक्षबाट जुटाइएको जिल्ला समन्वय उपप्रमुख सुवेदीले जानकारी दिए।
उनका अनुसार अब पालिकाको प्रशासनिक कार्यसञ्चालन नियमित रूपमा अघि बढ्नेछ। पालिकाका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूले समेत विवाद समाधानमा सन्तोष व्यक्त गरेका छन्।