स्याङ्जा, असार ३ ।
वालिङ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा, स्वास्थ्य कार्यालय स्याङ्जा र जन्त्र परियोजनाको सहकार्यमा वालिङ नगरपालिका वडा नं. ५ को वडा कार्यालय भवनमा ‘पोर्टेबल एक्स–रेको माध्यमबाट क्षयरोगको सक्रिय खोजपड्ताल शिविर’ सम्पन्न गरिएको छ।
मिति २०८२ साल असार ३ गते सम्पन्न उक्त शिविरमा वडा नं. ५, ६ र ७ का गरी कुल ५ सय ८० जनाले सेवा लिएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिए । सेवाग्राहीहरूलाई पोर्टेबल एक्स–रे प्रविधिको प्रयोगमार्फत छातीको परीक्षण गरी क्षयरोगको पहिचान गरिएको थियो।
शिविर सफल बनाउन स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकहरूको उल्लेखनीय सहयोग रहेको थियो। जोखिम समूहमा क्षयरोग पहिचान गरी समयमै उपचार गर्न सकिने भएकाले यस्ता शिविरले क्षयरोग न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विशेषज्ञहरूको भनाइ छ।
शिविरमा जाँच गरिएका मध्ये १४ जनामा क्षयरोग देखिएको छ। ती सबै बिरामीलाई आवश्यक औषधि सेवनका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको र निःशुल्क औषधि उपलब्ध गराइने जानकारी वालिङ नगरपालिका स्वास्थ्य शाखाले दिएको छ।