स्याङ्जा, जेठ २६ ।
पुतलीबजार नगरपालिकाले उपभोक्ताको हित सुनिश्चित गर्न स्याङ्जा सदरमुकामस्थित प्रगतिनगर र घुम्ती चिसापानी भित्री बजार क्षेत्रमा बजार अनुगमन गरेको छ। सोमबार सम्पन्न अनुगमन नगर उपप्रमुख देवी अर्यालको नेतृत्वमा गरिएको हो।
अनुगमन टोलीमा पुतलीबजार नगरपालिकाका वरिष्ठ अधिकृत धनप्रसाद कोइराला, अधिकृत सृजना लामिछाने, दिर्घनारायण मरासिनी, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला, उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, जिल्ला प्रशासन स्याङ्जाका प्रतिनिधि, चेम्वर अफ कमर्सका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
अनुगमन टोलीले बजार क्षेत्रका खाद्यान्न पसल, फलफूल पसल तथा चियापसलहरूमा स्थलगत अनुगमन गरी खाद्य वस्तुको म्याद, पसल दर्ता, मूल्य सूची, सरसफाइ तथा उपभोग्य वस्तुको गुणस्तरलगायत विषयहरूमा निगरानी गरेको थियो।
अनुगमनको क्रममा केही पसलहरूमा म्याद गुज्रिएका सामग्री भेटिएका थिए भने कतिपयले पसल दर्ता नगरेको, मूल्यसूची नराखेको र सरसफाइमा कमजोरी गरेको पाइएको थियो। यस्ता पसलहरूलाई आवश्यक सुधारका लागि सचेत गराइएको र केहीलाई जरिवाना समेत गरिएको अनुगमनमा सहभागी अधिकृतहरूले जानकारी दिए।
नगर उपप्रमुख अर्यालले बजारमा हुने अनियमितता नियन्त्रण गरी उपभोक्ताको हक अधिकार संरक्षण गर्न अनुगमनलाई नियमित बनाइने बताइन्। उनले उपभोक्ताको स्वास्थ्य र हितमा आँच आउने कुनै पनि क्रियाकलाप सह्य नहुने स्पष्ट पारिन्।
स्थानीय व्यवसायी, उपभोक्ता तथा सरोकारवालाको सक्रिय सहभागितासहितको यस्तो अनुगमनले बजार अनुशासनमा सुधार ल्याउने अपेक्षा लिइएको छ। नगरपालिकाले आगामी दिनमा थप प्रभावकारी ढंगले बजार अनुगमनलाई निरन्तरता दिने वरिष्ठ अधिकृत धनप्रसाद कोइरालाले जनाएका छन ।