स्याङ्जा, जेठ २५ ।
सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्दै सवारी सुरक्षाप्रति सर्वसाधारणलाई सचेत गराउने उद्देश्यसहित स्याङ्जामा ट्राफिक सप्ताह, २०८२ सुरु गरिएको छ।
‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित कार्यक्रमलाई नागरिक सहभागितामूलक अभियानका रूपमा सञ्चालन गरिएको छ।
गण्डकी प्रदेश सरकार, प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा ट्राफिक सप्ताहअन्तर्गत प्रभातफेरी कार्यक्रम पुतलीबजार नगरपालिका गेटबाट सुरु भई प्रगतिनगर हुँदै सिटिहलमा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा नगरप्रमुख तुलसीराम रेग्मीले सवारी सुरक्षाको जिम्मेवारी प्रहरीको मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व भएको उल्लेख गर्दै सडक नियम पालना जीवन रक्षासँग जोडिएको विषय भएको बताए। “ट्राफिक नियम पालना गर्नु भनेको आफ्नो मात्र होइन, अरूको ज्यान जोगाउनु पनि हो,” रेग्मीले वताए।
कार्यक्रममा उपप्रमुख देवी अर्याल, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, आधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, विभिन्न संघसंस्था, विद्यालयका विद्यार्थी, शिक्षक, पत्रकार तथा स्थानियवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
ट्राफिक सप्ताहको पहिलो दिन सहभागीहरूले ‘सुरक्षित यात्रा’ भन्ने चेतनामूलक सन्देश बोकेको स्टिकर सवारी साधनमा टाँसेर अभियानलाई प्रभावकारी बनाएका थिए।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले गरेका थिए।
उनलेले ट्राफिक नियमको सशक्त कार्यान्वयनसँगै नागरिक सचेतना नै दीर्घकालीन समाधान भएको बताउँदै हरेक नागरिकलाई कानुनी जानकारी र व्यवहारिक अनुशासनको पालना गर्न आह्वान गरेका छन्।