प्रकाश डोटेल
स्याङ्जा, २० जेठ । संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहका लागि करिब ४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको अनुदान विनियोजन गरिएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा ५ अर्ब ४३ करोड विनियोजन गरिएकोमा आगामी वर्षका लागि करिब २५ करोड रुपैयाँ कम बजेट छुट्याइएको हो।
सरकारको बजेट विवरणअनुसार जिल्लाका पालिकाहरूलाई समानीकरण अनुदानमा १ अर्ब १० करोड ७७ लाख, शर्तअनुदानमा ३ अर्ब ३७ करोड ८१ लाख, विशेष अनुदानमा १६ करोड २९ लाख तथा समपूरक अनुदानतर्फ १० करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिका तर्फ सबैभन्दा बढी अनुदान पाउने पालिका पुतलीबजार नगरपालिका रहेको छ। पुतलीबजारले कुल ७५ करोड १ लाख रुपैयाँ पाएको छ। यस्तै वालिङले ६६ करोड ३२ लाख, गल्याङले ५२ करोड १५ लाख, चापाकोटले ४३ करोड ९७ लाख र भीरकोटले ४२ करोड ३६ लाख रुपैयाँ प्राप्त गरेका छन्।
गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट कालिगण्डकी गाउँपालिकाले पाएको छ। कालिगण्डकीले ४१ करोड ४१ लाख, बिरुवाले ३४ करोड ३७ लाख, आँधीखोलाले ३३ करोड ७८ लाख, अर्जुनचौपारीले ३० करोड १२ लाख, हरिनाशले ३० करोड ३ लाख तथा फेदीखोलाले २६ करोड १ लाख रुपैयाँ पाएका छन्।
अनुदानका शिर्षकतर्फ हेर्दा पुतलीबजारले समानीकरणमा १३ करोड ९३ लाख, शर्तमा ५८ करोड ११ लाख, विशेषमा २ करोड ७ लाख तथा समपूरकमा ९० लाख पाएको छ। वालिङले समानीकरणमा १५ करोड ७ लाख, शर्तमा ४८ करोड ९० लाख, विशेषमा १ करोड ४५ लाख र समपूरकमा ९१ लाख पाएको छ।
यसरी अनुदान वितरणमा नगरपालिकाहरूले गाउँपालिकाभन्दा बढी रकम प्राप्त गरेका छन् भने पुतलीबजार नगरपालिका सर्बाधिक बजेट प्राप्त गर्ने पालिका बनेको छ। फेदीखोला गाउँपालिका भने सबैभन्दा कम बजेट पाउने पालिका बनेको छ।
बजेटको यस वितरणले स्थानीय तहका विकास योजनामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।