वालिङ, जेठ १५ । वालिङ नगरपालिकामा सुरक्षित र गुणस्तरीय पिउने पानीको पहुँच विस्तार गर्न ‘वालिङ बृहत् खानेपानी आयोजना’ सञ्चालन गरिने भएको छ । हाल वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वडा नम्बर १, ६, ८, ९ र १० का बजार क्षेत्रलाई लक्षित गरी खानेपानी सेवा दिँदै आएकोमा अब सो सेवा वडा नम्बर २, ११, १२ र १३ मा पनि विस्तार गरिनेछ ।
यसका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आयोजनाको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरिएको हो । डिपिआरको अनुमानित लागत रू. ७७ करोड १९ लाख १७ हजार ४३० रहेको छ । सो आयोजना कार्यान्वयन भएमा ७ हजार १ सय ८४ घरधुरीका करिब ४२ हजार ३ सय ४० जनसंख्या लाभान्वित हुनेछ ।
संस्थाका अनुसार बाँकी रहेका वडाहरूलाई समेत अर्को आयोजनामार्फत समेटी सम्पूर्ण नगरवासीलाई सुरक्षित खानेपानी सेवा दिने दीर्घकालीन लक्ष्य लिइएको छ ।
गत मंगलवार डिपिआर सार्वजनिक गरिएको हो । आयोजनामा १० प्रतिशत उपभोक्ताको लागत सहभागिता अनिवार्य गरिएको छ । संविधानले प्रत्याभूत गरेको गुणस्तरीय पिउने पानी उपभोग गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न यो आयोजना महत्वपूर्ण हुने उपभोक्ता संस्थाका अध्यक्ष विद्या श्रेष्ठले जानकारी दिए ।
उक्त आयोजना सम्पन्न भएपछि वालिङ नगरवासीले प्रविधियुक्त र सुरक्षित खानेपानी सेवा प्राप्त गर्ने विश्वास लिइएको छ ।