स्याङ्जा, जेठ १४ । स्याङ्जाका कृषक तथा उद्यमीहरूलाई लक्षित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउन बैंकहरू सक्रिय भएका छन्। कृषकहरूले कृषि कर्जा लिनमा कठिनाइ भएको गुनासो गरेपछि बैंकहरू सहजीकरण गर्न तयार भएका हुन्।
वालिङ नगरपालिकामा आयोजित छलफल कार्यक्रममा वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि, कृषक र बैंक प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख लेखनाथ भट्टराईले कृषकमा कर्जासम्बन्धी जानकारीको अभाव रहेको भन्दै वित्तीय साक्षरताका लागि पालिकासँग सहकार्य गरिने बताए।
कृषि विकास बैंक वालिङका प्रमुख यमप्रसाद आचार्यले बैंकको कुल कर्जामध्ये २५ प्रतिशत कृषि क्षेत्रमा लगानी भइरहेको जानकारी दिँदै, वास्तविक कृषकलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। नेपाल बैंक वालिङकी प्रमुख दर्शना भट्टराईले कृषि कर्जाको दुरुपयोग रोक्न कडाइ गरिने जनाउँदै कृषि कर्ममा संलग्नलाई प्राथमिकता दिने बताइन्।
वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेलगायत जनप्रतिनिधिहरूले सहुलियत कर्जा प्रवाहमा पालिकाले पूर्ण सहकार्य गर्ने बताए। उपप्रमुख तिवारीले एनएमवि खेती कर्जा अन्तर्गत बिना धितो दुई लाख रुपैयाँसम्म कर्जा वितरण गर्न सुरु गरिएको जानकारी दिइन्।
हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालित कृषि परियोजनामा आवद्ध ४ हजार ९९ कृषक परिवारलाई लक्षित गर्दै सहुलियत कर्जा प्रवाहको योजना बनाइएको क्षेत्रीय प्रबन्धक प्रेम साम्वयुले जानकारी दिए। कार्यक्रममा विभिन्न बैंकका प्रतिनिधिहरूले सहुलियतपूर्ण कर्जा प्रवाह तथा पहुँच वृद्धि सम्वन्धी छलफल गरिएको थियो।