वालिङ, जेठ १३ ।
वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बृहत् खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको छ।
डिपिआर ‘नियात्रा कन्सल्टेन्ट’ले तयार पारेको हो। आयोजना पहिलो चरणमा वालिङ नगरपालिकाका ९ वटा वडामा (१, २, ६, ८, ९, १०, ११, १२, १३) लागू गरिनेछ। आयोजनाबाट ७ हजार २ सय ७१ घरधुरीका २७ हजार १ सय नागरिक लाभान्वित हुनेछन्।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले आयोजना निर्माण गर्न सवै पक्षको सहयोग र पहल आवश्यक रहेको वताए । ।
डिपिआर अनुसार ११ वटा स्किममा कार्य हुनेछ, १५ वटा टंकी र ४ वटा पम्प हाउस निर्माण गरिनेछ। करिब १३५ किलोमिटर पाइपलाइन जडान गरिने छ। आयोजनाको कुल लागत करिब ६९ करोड रुपैयाँ अनुमान गरिएको छ, जसमा ९० प्रतिशत नेपाल सरकारले र १० प्रतिशत उपभोक्ताले लगानी गर्नेछ।
संघीय खानेपानी आयोजना सिडिई कुल प्रसाद पौडेलले हालका संरचनाहरूलाई डिपिआरमा समेटिएको जानकारी दिए। आयोजनाबाट व्यवस्थित रूपमा वस्तीमा खानेपानी पुर्याउने लक्ष्य रहेको उनले बताए।
खानेपानी जनताको मौलिक हक भएकाले सबै वडामा पानी पुर्याउने दीर्घकालीन लक्ष्य राखिएको आयोजकले जनाएको छ। डिपिआर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वडाका खानेपानी उपभोक्ता समितिका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रम शाना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विद्या श्रेष्ठको अध्यक्षतामा र सचिव टेकलाल खनालको सञ्चालनमा सम्पन्न भएको थियो।