स्याङ्जा, जेठ १३ । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा स्याङ्जा जिल्लाका विभिन्न स्थानहरूमा मंगलबार साँझ दीप प्रज्वलन गरी दिवस मनाइएको छ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णयअनुसार स्थापना दिवसलाई सप्ताहव्यापी रूपमा जेठ १२ गतेदेखि १९ गतेसम्म विविध कार्यक्रमसहित मनाउने तय गरिएको थियो। सोहीअनुसार जिल्लास्तरीय तथा प्रतिष्ठान शाखाहरूलाई निर्देशन दिइएको थियो।
वालिङ
स्याङ्जाको वालिङ, पुतलीबजार, गल्याङ र चापाकोटमा प्रेस युनियनसँग सम्बन्धित पत्रकार समूहहरूले दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका हुन्।
वालिङमा आयोजित कार्यक्रम नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त वगालेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, प्रेस युनियनका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, युनियनका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ गण्डकीका सदस्य श्रीकृष्ण सिग्देल, युनियन गण्डकी प्रदेश लेखा समिति सदस्य राधाकृष्ण डुम्रे, महासंघका कोषाध्यक्ष तथा युनियनका पूर्व कोषाध्यक्ष जोगराज पाठक, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा, पूर्व अध्यक्ष नेत्रप्रसाद पाण्डे, ध्रुवप्रसाद शर्मा लगायतको उपस्थिति थियो।
चापाकोट
कार्यक्रममा शुभकामना आदानप्रदान र पत्रकारिताको वर्तमान अवस्था र लोकतन्त्रको संस्थागत विकासमा प्रेसको भूमिकाका विषयमा छलफल गरिएको थियो ।
पुतलीबजारमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व उपाध्यक्ष भवानी अधिकारी पत्रकार महासंघका सदस्य युवराज पौडेल सहितका पत्रकारहरूको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो।
पुतलीबजार
त्यस्तै, चापाकोटमा नेपाल प्रेस युनियनका उपाध्यक्ष गोपीकृष्ण रेग्मीको नेतृत्वमा दीप प्रज्वलन गरिएको युनियन स्याङ्जाका सचिव शंकर सुवेदीले जानकारी दिए।
स्थापना दिवसको अवसरमा एक हप्तासम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जानकारी युनियनले दिएको छ।