स्याङ्जा, जेठ १३ – ज्योति विकास बैंक लिमिटेड वालिङ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अर्जुनचौपारी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकीलाई नवजात शिशुहरूको उपचारमा प्रयोग हुने ‘बेबी वार्मर’ मेसिन हस्तान्तरण गरेको छ।
मंगलवार आयोजित कार्यक्रममा वालिङ शाखाका प्रमुख कृष्णप्रसाद काफ्लेले स्वास्थ्य चौकीका अध्यक्ष तथा अर्जुनचौपारी–२ का वडाध्यक्ष धनबहादुर गुरुङलाई बेबी वार्मर हस्तान्तरण गरे। बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई आवश्यक सामग्री प्रदान गर्दै आएको बताउँदै काफ्लेले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने जानकारी दिए।
स्वास्थ्य चौकीका अध्यक्ष गुरुङले यस्तो सहयोगबाट नवजात शिशुहरूको जीवनरक्षामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बैंकप्रति आभार व्यक्त गरे। बैंकले देशका विभिन्न स्थानमा स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनमा सहयोग गर्दै आइरहेको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।