स्याङ्जा, जेठ १२ – भीरकोट नगरपालिकाका सार्वजनिक स्थल, विद्यालय र अस्पताल वरपरको क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री–वितरण तथा सेवनमाथि अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको अनुगमनमा विद्यालय, अस्पताल तथा सार्वजनिक स्थलको १०० मिटर आसपास सुर्तीजन्य पदार्थको विक्री, वितरण र प्रयोगबारे निगरानी गरिएको हो।
अनुगमनका क्रममा कतिपय स्थानमा सुर्तीजन्य पदार्थको सेवन निषेध सम्बन्धी सूचना टाँसे- नटाँसिएको, सूचना टाँस भए पनि देखिने गरी नराखिएको, तथा सार्वजनिक स्थल नजिकै सुर्तीजन्य वस्तु विक्री गरिएको भेटिएको जनस्वास्थ्य अधिकृत अस्मिता भण्डारीले जानकारी दिइन्। “त्रुटि देखिएको स्थानहरूलाई तत्काल सच्याउन निर्देशन दिएका छौं,” उनले भनिन्।
भीरकोट नगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरू, विद्यालय परिसर र हेलु बजारस्थित नगर अस्पताल वरपरको क्षेत्रलाई विशेष प्राथमिकतामा राखी अनुगमन गरिएको थियो।
अनुगमन टोलीमा जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा. मोहन काफ्ले, प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाकी जनस्वास्थ्य अधिकृत अस्मिता भण्डारी, पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकाल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष राजेन्द्र मरासिनी लगायतको सहभागिता रहेको थियो।
अनुगमन टोलीले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थमाथि प्रतिबन्धलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय निकाय र व्यवसायीलाई आवश्यक सहयोग गर्न समेत आग्रह गरेको छ।