वालिङ, १२ जेठ । वालिङ नगरपालिकामा सञ्चालन भइरहेका पोषण सुधार कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन्। मातृशिशु स्वास्थ्य, किशोरी पोषण, विद्यालयस्तरीय जनचेतना, र समुदायमा पोषणमैत्री व्यवहार विस्तारका पक्षमा एकीकृत रूपमा अगाडि बढाइएको कार्यक्रमले हालसम्म उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा पोषण कार्यक्रमका लागि १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। हालसम्म कुल बजेटको ७० प्रतिशत खर्च भइसकेको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिए।
कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकामा १ जना पोषण अधिकृत र १५ जना पोषण सहजकर्ता खटाइएको छ, जसले १४ वटै वडामा नियमित रूपमा सेवा पुर्याइरहेका छन्। पोषण अधिकृत रूपा पाठकका अनुसार मातृ तथा शिशु स्वास्थ्यसँगै नागरिकको समग्र स्वास्थ्य अवस्था बुझ्न घरदैलोमै पुग्ने रणनीति अपनाइएको छ।
कार्यक्रम ‘सुनौला हजार दिन’ का आमा र बच्चामा केन्द्रित रहेको छ । गर्भावस्था सुरु भएपछि दुई वर्षको उमेर नपुगेका बालबालिका र आमाहरूलाई लक्षित गरी पोषण, सरसफाइ र स्वास्थ्यसम्बन्धी सचेतना फैलाइएको छ।
वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीका अनुसार कार्यक्रमले आमाबच्चाको पोषणमा सुधार ल्याउन मात्र नभई विद्यालयहरूमा जंक फूडको प्रयोग घटाउने, विविध आहारको प्रवर्द्धन, स्तनपान अभ्यासमा वृद्धि, र जनस्तरसम्म पोषणको सन्देश पुर्याउन सहयोग गरेको छ।
कार्यक्रमले ६ महिना पूर्ण स्तनपान र थप खाना अभ्यासमा सुधार, भिटामिन ए र जुकाको औषधी सेवन गर्ने संख्यामा वृद्धि, कुपोषण पहिचान र उपचारात्मक खानाको वितरणमा वृद्धि, किशोरीहरूमा आइरन फोलिक एसिडको सेवनमा उल्लेखनीय सुधार, जंक फूडको प्रयोगमा कमी, विविध आहारमा प्रोत्साहन जस्ता विषयमा अपेक्षित सुधार रहेको नगरपालिकाले जनाएको छ ।
सासु-बुहारी-श्रीमान सम्मान कार्यक्रमद्वारा पारिवारिक सम्बन्धका विषयमा समेत चासो राखेर कार्यक्रम गरिएको छ । जुन कार्यक्रमले नयाँ आयाम थपेको छ । यसका अलवा ‘सुनौला झोला’ वितरणमार्फत आमाहरू र जनप्रतिनिधिबीच संवाद, विद्यालय र समुदायसम्मका अभियानहरू, पोषण सुधारलाई शिक्षा र समुदायसँग जोड्दै नगरपालिकाले सामुदायिक विद्यालयहरूमा पोषण कर्नर स्थापना गरेको छ। शिक्षक, विद्यार्थी, र अभिभावकबीच पोषणमैत्री वातावरण निर्माण गर्न अनगिन्ती अन्तरक्रिया तथा तालिम सञ्चालन गरिएको जनाएको छ ।
नगरपालिकाले पोषण सुधारलाई एकीकृत र दीर्घकालीन अभियानका रूपमा अगाडि बढाएको छ। वडा, विद्यालय, समुदाय, स्वास्थ्य संस्था र परिवार सबैलाई समेट्ने गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले पोषण सुधारसँगै सामाजिक परिवर्तनतर्फ समेत सहयोग पुगेको लक्ष्मी मा.वि. का प्रधानाध्यापक सीता गैह्रेले वताईन ।
वालिङ नगरपालिकाको पोषण सुधार कार्यक्रम मातृशिशु स्वास्थ्य, किशोरी पोषण, विद्यालय शिक्षा, सरसफाइ र सामाजिक संरचना सबैलाई जोड्ने गरी अगाडि बढाइएको यो कार्यक्रम र प्रयास समग्र विकासको मेरुदण्ड बन्न सक्ने आधार बनिरहेको छ।