पोखरा, जेठ ११ । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उल्लेख्य सहभागिता देखिएको छ। भक्तजनहरूले आर्थिक सहयोगका साथै उल्लेखनीय मात्रामा जग्गा दान गरेका छन्।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार अन्नपूर्ण गाउँपालिका, सल्यानका विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन्। भक्तजनहरूबाट प्राप्त आश्वासन अनुसार महायज्ञमा १ सय रोपनीभन्दा बढी जग्गा दान हुने अनुमान गरिएको छ।
मानव सेवा फाउन्डेसनको अगुवाइमा सञ्चालन भएको कोटिहोमबाट प्राप्त सहयोग ललितपुरस्थित मामाघर अनाथालय तथा भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणमा खर्च गरिने जनाइएको छ।
महायज्ञको अवसरमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको छ, जसमा देशभरका ९० जना विद्यार्थी सहभागी छन्। प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१ रुपैयाँसहित नगद पुरस्कार प्रदान गरिनेछ।
कोटिहोममा देवी प्रतिभा, राधिका दासी, चैतन्यकृष्ण महाराज, दिनबन्धु पोखरेललगायतका ख्यातिप्राप्त वाचकद्वारा प्रवचन दिइँदैछ। साथै, रक्तदान, भजन प्रतियोगिता, तुला दान, ग्रहशान्ति, व्रत उद्यापन, गोदान, शिवलिंग निर्माणलगायतका धार्मिक अनुष्ठानहरू पनि जारी छन्।
महायज्ञको समापन जेठ २६ गते हुने आयोजकले जनाएका छन्।