वालिङ, जेठ ९ । वालिङ नगरपालिकाको आयोजना र शिक्षा शाखाको समन्वयमा IT स्रोत शिक्षकहरूलाई लक्षित गर्दै पाँचदिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ। जेठ ५ देखि ९ गतेसम्म सञ्चालित उक्त तालिममा नगरभित्रका २५ वटा सामुदायिक विद्यालयका सूचना प्रविधि स्रोत शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमको उद्देश्य विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै प्रशासनिक तथा शिक्षण–सिकाइ प्रक्रियामा डिजिटल दक्षता अभिवृद्धि गर्नु रहेको शिक्षा शाखा अधिकृत दुर्गा न्यौपानेले जानकारी दिइन्। “सूचना प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइलाई रोचक र प्रभावकारी बनाउने भएकाले शिक्षकलाई दक्ष बनाउनु आवश्यक छ,” उनले भनिन्।
तालिम समापन समारोहमा वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि सूचना प्रविधि अनिवार्य बन्दै गएको उल्लेख गर्दै समयानुकूल प्रविधिको प्रयोगमा नगरपालिका प्रतिबद्ध रहेको बताइन्। शैक्षिक सुधारका लागि आगामी वर्षको बजेट तथा कार्यक्रममा प्रविधिसम्बन्धी विषयलाई अझ प्राथमिकताका साथ राखिने उपप्रमुख गैह्रेको भनाइ थियो।
कार्यक्रमको सहजीकरण वालिङ नगरपालिका सूचना तथा सञ्चार शाखा प्रमुख माधवप्रसाद न्यौपाने र जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक मातृका अर्यालले गरेका थिए। तालिमका सहभागी शिक्षकहरूले यस्ता कार्यक्रमले व्यवहारिक दक्षता अभिवृद्धिमा सहयोग पुर्याउने प्रतिक्रिया दिएका छन्।