स्याङ्जा, जेठ ८ ।
फेदीखोला गाउँपालिकामा अध्यक्ष घनश्याम सुवेदीको मनोमानी र एकल निर्णय विरुद्ध नेपाली कांग्रेसका जनप्रतिनिधिहरू आक्रोशित बनेका छन्। उनीहरूले गाउँसभा र कार्यपालिका बैठक नियमित रूपमा नबोलाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् – “अब सहेर बस्दैनौं, बेवास्ता गरे चरणबद्ध आन्दोलन हुन्छ।”
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकाले वर्षमा कम्तीमा दुईपटक गाउँसभा र प्रत्येक महिना कार्यपालिका बैठक गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, मिति २०८१ साल फागुन १३ यता (झण्डै ३ महिना) कार्यपालिका बैठक आह्वान नगरेको र चालू आर्थिक वर्षमा हिँउदे सभा नबोलाइएको जनप्रतिनिधिहरूको आरोप छ।
वडा नं. १ का अध्यक्ष अमृत क्षेत्रीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेल समक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा कार्यपालिकाको अहिलेसम्मका निर्णयहरूको प्रमाणित प्रतिलिपि माग गर्दै आगामी दिनमा स्वेच्छाचारिता रोक्न आग्रह गरिएको छ।
क्षेत्रीले भने, “एक व्यक्तिको लहडमा सिङ्गो पालिका बन्धक बनाइएको छ। यस्तो बेथिति अब सहन सकिँदैन। पालिका अध्यक्षको निरंकुश रवैया तत्काल नरोके आन्दोलन अपरिहार्य छ।”
उनले थपे, “हामीले जनताको बीचमा गरेका प्रतिबद्धता अझै बिर्सेका छैनौं। स्रोतको अभावबीच पनि काम गर्न खोजेका थियौं। तर, अध्यक्षको अकर्मण्यता र कानुनको निरन्तर उल्लंघनका कारण वडास्तरीय योजना तथा कार्यक्रम प्रभावित हुन थालेका छन्। यसले समग्र पालिकाबासीलाई असर पार्नेछ।”
ध्यानाकर्षणपत्र बुझाउँदा प्रमुख प्रशासकीय अधिकृत पौडेलले समेत वेवास्ता गरेको जनाउँदै क्षेत्रीले भने, “हामीले ध्यानाकर्षण दिन आएका हौं। अब पनि सुधार नभए, आन्दोलनमा जान बाध्य बनाइनेछ। यसको सम्पूर्ण जिम्मेवारी अध्यक्ष सुवेदीले लिनुपर्नेछ।”