स्याङ्जा, जेठ २ । गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण शिक्षाबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले नगरक्षेत्रका १ सय ९१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। यो छात्रवृत्ति वितरणले स्याङ्जामा ठूलै हलचल मच्चिएको छ ।
नगरपालिकाले क्याम्पस र माध्यमिक विद्यालयमा अध्ययनरत अति विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति उपलब्ध गराएको हो। नगरभित्र रहेका गल्याङ बहुमुखी क्याम्पस र मालुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत ७० जना विद्यार्थीको मासिक शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ। उनीहरूलाई जनही १० हजार ८ सय रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको छ।
यस्तै कक्षा ११ र १२ मा अध्ययनरत ९९ जना विद्यार्थीलाई छात्रवृत्तिस्वरूप जनही ३ हजार ६ सय रुपैयाँ उपलब्ध गराइएको छ। साथै, क्याम्पस तहमा रहेका अति विपन्न २ जना विद्यार्थीलाई समेत विशेष छात्रवृत्ति प्रदान गरिएको छ।
कुल १ सय ८१ जना विद्यार्थीलाई छात्रवृत्ति तथा मासिक शुल्क वापत जम्मा १२ लाख १७ हजार ८ सय रुपैयाँ वितरण गरिएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख गुरु प्रसाद भट्टराईका अनुसार, “पदभार ग्रहण गरेलगत्तै आर्थिक अवस्थाका कारण कोही पनि विद्यार्थी शिक्षाबाट पछाडि नपरोस् भनेर निर्णय गरिएको थियो। सोही निर्णय कार्यान्वयन गर्दै हामीले विपन्न विद्यार्थीका लागि यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेका हौँ।”
छात्रवृत्तिको छनोट प्रक्रिया क्याम्पस तथा विद्यालयबाट सिफारिस प्राप्त गरी पालिकाले कार्यविधिअनुसार छानबिन गरी निर्धारण गरेको हो। पालिकाले छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीका लागि प्रत्येक वर्ष आवेदन आह्वान गर्ने र विद्यालय तथा क्याम्पसमार्फत सिफारिस हुने प्रावधान रहेको छ।
नगरप्रमुख भट्टराईले बताए अनुसार, “पूर्ण छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले यदि पास गरेमा मात्र आगामी कक्षामा पनि छात्रवृत्ति पाउनेछन्। अनुत्तीर्ण विद्यार्थीलाई भने यो सुविधा दोहोरिने छैन।”
गल्याङ नगरपालिकाको यो पहलले नगरभित्र शैक्षिक रुपान्तरणमा टेवा पुग्ने विश्वास स्थानीय शिक्षाप्रेमीहरूले व्यक्त गरेका छन्।