पोखरा, वैशाख ३१ । पोखराको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञअन्तर्गत जेठ ११ गतेदेखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ। “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” भन्ने विषयमा आधारित उक्त प्रतियोगिता कक्षा ८ देखि १२ सम्मका विद्यार्थीका लागि खुला गरिएको आयोजकले जनाएका छन्।
प्रतियोगिता संयोजक तथा पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालका अनुसार प्रतियोगिताको मिति कक्षा १२ को परीक्षा र अभिभावकको आग्रहका कारण जेठ ११ गतेबाट सारिएको हो। सहभागी विद्यार्थीले जेठ १० गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार १ सय ५१, द्वितीयले ४१ हजार १ सय ४१, तृतीयले ३१ हजार १ सय ३१ र सान्त्वना पुरस्कारस्वरूप २१ हजार १ सय २१ रुपैयाँ प्राप्त गर्ने छन्। साथसाथै विशेष सम्मान पनि प्रदान गरिनेछ।
देशभरका विद्यालयहरूबाट कुनै पनि संख्यामा सहभागीता जनाउन पाइने र कास्की बाहिरबाट आउने विद्यार्थीका लागि यातायात तथा आवासको व्यवस्था मिलाइएको खनालले जानकारी दिए। प्रतियोगिताको वक्तृत्व समय ७ मिनेटको हुनेछ र भाषण सकारात्मक सन्देश बोकेको हुनुपर्नेछ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बाल प्रतिभा ओजस्वी आचार्य (पाल्पा), प्रेन्सा रेग्मी (कास्की), मनिषा पौडेल (नवलपुर) लगायत अतिथि वक्ताको रूपमा सम्मान गरिनेछ। मूल्याङ्कन राष्ट्रियस्तरका ख्यातिप्राप्त वक्ताहरूबाट गरिनेछ।
हालसम्म काठमाडौँ, जुम्ला, रुकुम, झापा, बर्दिया, धादिङ लगायतका जिल्लाबाट १०० भन्दा बढी विद्यार्थीले नाम दर्ता गराइसकेको जानकारी दिइएको छ।
महायज्ञ अन्तर्गत विभिन्न धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रम जारी छन्। जेठ १ गते चर्चित गायिका एलिना चौहान, ५ गते लोक गायक राजु ढकाल, ६ गते हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’, २४ गते महानायक राजेश हमाल लगायत अन्य चर्चित कलाकारहरूको प्रस्तुति तय भएको छ।
महायज्ञको संयोजन मानस सेवा फाउन्डेसनद्वारा गरिएको हो, जुन पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको परिसर र आसपासका स्थानमा सञ्चालन भइरहेको छ। कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।