गल्याङ, वैशाख २४ । ‘भोकालाई एक छाक भोजन होइन, जीउने जुक्ति सिकाऔं ।’ भन्ने नाराका साथ गल्याङ नगरपालिकामा बीउ बाख्रा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत गल्याङ नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र नयाँ गोरेट संस्थाको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत गल्याङ नगरपालिका वडा नं. ७ राम्चेमा ३० वटा र वडा नं. ६ पिडिखोलामा २५ वटा गरी कुल ५५ वटा बीउ बाख्रा वितरण गरिएको हो।
गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय समूहका सदस्यहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बीउ बाख्रा वितरण गरिएको हो। प्रमुख भट्टराईले ग्रामीण क्षेत्रको आर्थिक उत्थानका लागि पशुपालन प्रभावकारी उपाय हुने भन्दै लाभग्राहीहरूलाई निरन्तर मिहिनेत र अनुशासनमा रहन आग्रह गरे।
कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले स्वरोजगारको लागि महिलाहरूलाई उत्प्रेरित गर्न यस्ता कार्यक्रमहरू आवश्यक भएको बताइन्। उनले भनिन्, “महिलाहरूको सशक्तीकरण आर्थिक आत्मनिर्भरतासँग जोडिएको हुन्छ, बाख्रापालन जस्ता कार्यक्रमहरू महिलाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने आधार बन्न सक्छन्।”
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्राविधिक कर्मचारी तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई नियमित तालिम, निगरानी र प्राविधिक सहयोग समेत प्रदान गरिने जनाइएको छ।