स्याङ्जा, वैशाख २३ । एचआईभी/एड्स संक्रमित व्यक्तिहरूप्रति समाजमा हुने लान्छना र भेदभाव अन्त्य गर्ने उद्देश्यले स्याङ्जाको पुतलीबजारमा मंगलवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
गण्डकी प्रदेश सरकारअन्तर्गत प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वयमा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले एचआईभी/एड्ससम्बन्धी लान्छना, सामाजिक बहिष्कार, र भेदभावको अवस्था र त्यसको समाधानबारे प्रस्तुति दिएका थिए।
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले एचआईभी संक्रमितहरूलाई सम्मानजनक व्यवहार गर्ने संस्कार विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। उनले समुदायमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे। नगरपालिकाकी उपप्रमुख देवी अर्यालले संक्रमितहरूलाई साथ, सहयोग र सद्भाव दिनु सबैको कर्तव्य भएको उल्लेख गरिन्।
कार्यक्रममा सहभागीहरूले एचआईभी/एड्ससम्बन्धी भ्रम हटाउन र संक्रमितहरूलाई आत्मसम्मानपूर्वक बाँच्न सक्ने वातावरण बनाउन सामूहिक प्रयासको आवश्यकता औँल्याएका थिए।
कार्यक्रम पुतलीवजार नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।