पोखरा, वैशाख २३ । ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको अवसरमा गण्डकी कोटिहोम परिसरमा भोलि बुधबार सामूहिक व्रतबन्ध कार्यक्रम आयोजना हुने भएको छ।
मानव सेवा फाउण्डेशनको आयोजनामा हुन लागेको व्रतबन्ध कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिएका छन्। उनका अनुसार धार्मिक संस्कारको रूपमा लिइने उपनयन संस्कार सामूहिक रूपमा दक्ष पण्डित तथा गुरुजनको निर्देशनमा विधिपूर्वक सम्पन्न गरिनेछ।
कार्यक्रममा सहभागी बालकहरूलाई शास्त्रोक्त विधिबाट यज्ञोपवीत धारण गराइनेछ र ब्राह्मण धर्मअनुसार देवऋण, ऋषिऋण र पितृऋणको जानकारी दिइनेछ। वेदपाठ, मन्त्रोच्चारण र विशेष हवन पनि व्रतबन्धसँगै सञ्चालन गरिनेछ।
ढकालका अनुसार हालसम्म दर्जनौं बालकको नाम दर्ता भइसकेको छ भने थप दर्ता खुला रहेको छ। व्रतबन्धका लागि काठमाडौँ, चितवन, बुटवललगायत स्थानबाट अभिभावकहरू गण्डकी कोटिहोम आइपुगेका छन्।
महायज्ञ अन्तर्गत हाल श्रीगण्डकी शत कुण्डीय कोटिहोममा ४ वेद, १८ पुराण, १०८ श्रीमद्भगवत पाठ, कोटिहोम, पार्थिव शिवलिङ्ग पूजा, रुद्राभिषेक, तुला दान, शुभ विवाह, भूमि पूजन, चौरासी पूजनजस्ता विविध धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्।
यसैबीच, वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल आफ्नै झाँकी र संगीत समूहसहित कोटिहोममा कथा वाचन गर्न आउने कार्यक्रम तय भएको छ। साथै, जेठ १४ देखि २२ सम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, देवी चन्द्रकला सखी, चैतन्यकृष्ण महाराज लगायतका वाचकहरू सहभागी हुनेछन्।
भजन चुट्का प्रतियोगिता पनि शनिबारदेखि सुरु भइसकेको छ। देशभरबाट करिब ३०० जना सहभागी भएका छन्। प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार ५५५, द्वितीयलाई २ लाख ५५ हजार ५५५, तृतीय समूहलाई १ लाख ५५ हजार ५५५, र दुई जना सान्त्वना विजेतालाई जनही ६५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। साथै, विभिन्न ११ विधामा जनही २५ हजार ५२५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको संयोजक प्रजापति पराजुलीले जानकारी दिए।
कोटिहोममा वैशाख ३ गतेदेखि भूमि पूजनसहित यज्ञकुण्ड खनी कार्यक्रम सुरु भइसकेको छ भने प्रत्येक दिन कथा वाचन र रक्तदान कार्यक्रम पनि सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
श्रीगण्डकी कोटिहोम २०८२ जेठ २६ गतेसम्म पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन हुनेछ।