कालिगण्डकी, वैशाख २२ । कालिगण्डकी गाउँपालिका, स्याङ्जामा २०८२ वैशाख २६ गतेदेखि जेठ ८ गतेसम्म १४ दिने राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सुरु गरिएको छ। फोटो र बायोमेट्रिक डाटा संकलनका लागि गाउँपालिकाको कार्यालय गहलाममा विशेष स्टेशन स्थापना गरिएको गाँउपालिका कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङमा उपस्थित हुन नसक्ने वृद्ध, अशक्त, अपाङ्ग तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई प्राथमिकता दिँदै यो अभियान सुरु गरिएको हो। वैशाख २६ गतेदेखि तोकिएको तालिका अनुसार वडागत रूपमा विवरण संकलन गरिनेछ।
विवरण संकलनका लागि सम्बन्धित वडाका नागरिकले तोकिएको मितिमा अनिवार्य रूपमा गाउँपालिकाको कार्यालयमा उपस्थित हुनुपर्नेछ। विवरण संकलनको क्रममा नेपाली नागरिकता प्रमाणपत्र, वैवाहिक हकमा विवाह दर्ताको प्रमाणपत्र, पति–पत्नी दुवैको नागरिकता, र मृत्युसम्बन्धी हकमा मृत्यु दर्ताको प्रमाणपत्र अनिवार्य रूपमा ल्याउन अनुरोध गरिएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको वडागत तालिका अनुसार विवरण संकलन हुने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम पोख्रेलले जानकारी दिए । गाउँपालिकाले सबै नागरिकलाई समयमै विवरण संकलन गराई आवश्यक कागजातसहित सहभागी हुन आह्वान गरेको गरेको पोख्रेलले जानकारी दिए।
विवरण संकलनका लागि वैशाख २६ र २७ गते वडा नं ४, २८ र २९ गते वाड नं १, ३० र ३१ गते वाड नं २, जेठ १ र २ गते वाड नं ३, ३ र ४ गते वाड नं ५, ५ र ६ गते वाड नं ६, ७ र ८ गते वाड नं ७ को विवरण संकलन गरिने तालिका गाँउपालिकाले सार्वजानिक गरेको छ ।