स्याङ्जा, वैशाख २१ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार स्याङ्जाको वालिङमा पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको आयोजनामा, वालिङ नगरपालिकाको सहयोग र गह्रौ प्राथमिक अस्पताल वालिङको प्राविधिक सहकार्यमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पत्रकारहरूको नसर्ने रोग, आँखाको परीक्षण तथा महिला पत्रकारहरूको लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको हो।
कार्यक्रमको उद्घाटन वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उनले वालिङ स्याङ्जाको केन्द्र भएकाले यसको विकासमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै भनिन्, “जनप्रतिनिधिले नदेखेका धेरै कुरा पत्रकारहरूले देख्न सक्छन्। नगरको गरिमा र साख जोगाउन सकारात्मक सूचनाको प्रवाह र कमजोरीको उजागर दुबैमा पत्रकारहरूको योगदान अपरिहार्य छ।”
गह्रौँ प्राथमिक अस्पतालका अध्यक्ष तथा वालिङ नगरपालिकाका पूर्वप्रमुख दिलिपप्रताप खाँणले पत्रकारिता राज्यको चौथो अंग भएकाले यसको स्वतन्त्रता सुनिश्चित हुनुपर्ने बताए।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, वालिङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डे लगायतले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पत्रकारमाथि भइरहेको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै पत्रकारिताको छवि सफा राख्नुपर्नेमा जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका अध्यक्ष प्रदिप कोईरालाले प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वास्थ्य परीक्षण शिविरको आयोजना गरी पत्रकारको स्वास्थ्यमा ध्यान दिन खोजिएको बताए। उनका अनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालयले महिला पत्रकारहरूका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ र पत्रकारहरूका लागि नसर्ने रोग परीक्षण गर्न परिपत्र गरे अनुसार यो कार्यक्रम सञ्चालन गरिएको हो।
स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष माधव गैह्रेद्वारा प्रस्तुत गरिएको कार्यक्रममा सहसचिव कला रानाले सञ्चालन गरेकी थिइन्।
शिविरमा ७ जना महिला पत्रकारको पाठेघरको मुख क्यान्सर स्क्रिनिङ तथा २४ जना पत्रकारहरूको आँखाको साथै मुटु, सुगर, उच्च रक्तचाप र मृगौलासम्बन्धी परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षण सेवामा गह्रौँ प्राथमिक अस्पतालका विशेषज्ञ डा. सुमन थपलिया, मेडिकल अधिकृत डा. रोशन रेग्मी, नर्सिङ निरीक्षक भोजकुमारी शर्मा, ल्याब निरीक्षक इश्वर कोईरालालगायतको टोली संलग्न थियो।