स्याङ्जा, वैशाख २१ । स्याङ्जाको चापाकोटमा सम्पन्न पालिका स्तरीय पुरुष क्रिकेट प्रतियोगितामा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले उपाधि हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा तिलोत्तमाले आयोजक चापाकोट नगरपालिका ए लाई ४४ रनले पराजित गर्दै विजेता बन्न सफल भएको हो।
चापाकोटको गङ्गालाल माविको खेलमैदानमा भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। विकल पराजुलीले ४७, सुरज चौधरीले ३५ र विपर्स केसीले २१ रनको योगदान दिएका थिए। बलिङतर्फ चापाकोटका रामचन्द्र ढकालले ४ विकेट, नारायण भण्डारीले २ तथा रविन भट्राई र अनिश ताम्राकारले १/१ विकेट लिए।
१४५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चापाकोट एले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा १०० रन मात्रै बनाउन सक्यो। नारायण भण्डारीले ३१, विशाल कोइरालाले १६ र रामचन्द्र ढकालले १४ रन जोडे। तिलोत्तमाका अमन बोहराले ३ विकेट लिए भने विपर्स केसी र विकल अधिकारीले २/२ तथा मुनेश्वर चौधरी र लालबहादुर मालाले १/१ विकेट हात पारे।
विजेता तिलोत्तमाले ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता चापाकोट एले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
प्रतियोगिताको पुरस्कार वितरण चापाकोट नगरपालिका प्रमुख देवबहादुर खाँणले गरेका थिए। चापाकोट नगर क्रिकेट संघद्वारा आयोजित प्रतियोगिता वैशाख १६ गतेदेखि २० गतेसम्म चलेको थियो। नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा १३ पालिकाबाट १८ टिमको सहभागिता रहेको संघका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिए ।
प्रतियोगितामा साथ दिने चापाकोट नगरपालिका, वडा अध्यक्षहरू, सदस्यहरू, स्थानीय दाताहरू, गङ्गालाल मावि, जिल्ला क्रिकेट संघ, खेलाडी, प्रहरी प्रशासन, पत्रकार, एम्पायर तथा क्रिकेटप्रेमीहरूप्रति अध्यक्ष रेग्मीले धन्यवाद आभार व्यक्त गरेका छन् ।