पोखरा, वैशाख २१
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन्। आयोजकका अनुसार पोखरेलले आगामी वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ।
कोटीहोम प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार पोखरेल आफ्नो झाँकी र संगीत समूहसहित महायज्ञमा सहभागी हुनेछन्। कोटीहोममा विगत १७ दिनदेखि एक सय कुण्डमा हवन, भजन–चुट्का प्रतियोगिता, रामायण प्रवचन तथा भागवत कथा वाचनलगायत कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
महायज्ञमा चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पराकुशजी, वाचिका सुप्रिया र अन्य साधु–सन्तहरूले प्रवचन दिइरहेका छन्। यसअघि अनुराधा पाण्डेले श्यामद भागवत कथा वाचन गरेकी थिइन् भने देवीप्रतिभाले १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन्। संकल्पकर्ता विजय कृष्णमूर्तिका अनुसार देवीलाई पुनः जेठ १० देखि १६ गतेसम्मका लागि पोखरा ल्याउने प्रयास भइरहेको छ। हाल उनी भारतको झारखण्डमा छिन्।
आइतबार बिहान ८:०५ बजे हवन कुण्डमा तीन–तीनजना ब्राह्मणले गायत्री मन्त्र विधिबाट हवन गरेका थिए। साथै एक सय आठ भागवत महापुराण पाठ, चार वेद पाठ, सप्तचण्डी, अति रुद्री, मन्त्रजप लगायत धार्मिक क्रियाकलापहरू जारी छन्।
शनिबारदेखि सुरु भएको खुला भजन–चुट्का प्रतियोगितामा देशभरबाट करिब ३ सय सहभागी छन्। प्रतियोगितामा प्रथम हुनेलाई रु. ३ लाख ५५ हजार ५ सय ५५, द्वितीयलाई रु. २ लाख ५५ हजार ५ सय ५५ तृतीयलाई रु. १ लाख ५५ हजार ५ सय ५५ तथा सान्त्वना पुरस्कार स्वरूप दुई जनालाई जनही रु. ६५ हजार प्रदान गरिनेछ। यस्तै, विभिन्न ११ विधामा रु. २५ हजार ५ सय २५ का दरले पुरस्कारको व्यवस्था गरिएको छ।
कोटीहोम महायज्ञ जेठ २६ गतेसम्म पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन हुनेछ।