स्याङ्जा ४ वैशाख । नयाँ वर्षको सुरुवातसँगै कालीगण्डकी गाउँपालिका, स्याङ्जाको वडा नं. ७ मिर्मिबजार र यस आसपासका क्षेत्रहरुमा चोरी र तोडफोडका घटनाहरु बढेका छन् ।
बैसाख १ गते राती मिर्मी बहुमुखी क्याम्पसको कार्यालय कक्ष र कम्प्युटर ल्याबको कक्ष तोडी भौतिक सम्पत्तिमा क्षति पुर्याएका छन् । सोही रात भर्खरै संचालनमा आएको जेनजेट स्केटिङ एण्ड फिटनेस सेन्टरमा समेत तोडफोड गरी सामग्रीहरु लुटपाट गरेका छन् ।
बजार क्षेत्रमा रहेका ६ थान जति मोटरसाइकल चोरीको प्रयास सहित तोडफोड समेत गरेका छन् । घटना संलग्न रहेको आशंकामा चार जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
यसको लगत्तै गए राति मिर्मीबीच बजारकै एक फेन्सी पसल रहेको घरमा चोरी भएको छ । चोरीबाट सुनका गरगहना तथा नगद चोरी भएको स्थानीयले बताएका छन् । श्रृंखलाबद्ध रुपमा चोरीका घटना बढ्नुले सुरक्षा व्यवस्थामा गम्भिर चुनौति थपिएको छ । यस्ता घटनाले यस क्षेत्रको जनजीवन प्रभावित हुनुको साथै त्रासको वातावरण सिर्जना भएको स्थानीयहरू वताउछन ।
कालीगण्डकी गाउँपालिकाको आर्थिक केन्द्र समेत रहेको मिर्मीमा बैंक तथा वित्तीय संस्थाहरु, सामाजिक संघ संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, विभिन्न सरकारी कार्यालयहरु लगायत ठुलो बजार सहितको बस्ती रहेको छ । स्थानीयले पटक पटक प्रहरी चौकीको व्यवस्थापनको लागि प्रस्तावित जग्गासहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा अनुरोध गरेको भए तापनि यसको सुनुवाइ भने हुन नसकेको स्थानीयहरू वताउछन् ।
मिर्मीबजारको सुरक्षा जिम्मेवारी यसअघि इलाका प्रहरी कार्यालय जैपतेले हेर्ने गरेकोमा हाल बिर्घा प्रहरी चौकीले हेर्दै आएको छ । यसरी सुरक्षाको जिम्मेवारी हेरफेर गर्दा सुरक्षा अवस्थामा समेत प्रतिकुल प्रभाव परेको स्थानीयको आरोप छ ।