स्याङ्जा ४ मंसिर । आइसीसी महिला अण्डर १९ विश्वकपका लागि छनौट पुतलीबजार नगरपालिकाका तिनजना खेलाडीलाई नगरपालिकाले जनही ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित सम्मान गर्ने भएको छ ।
अण्डर १९ महिला राष्ट्रिय क्रिकेट समूहमा पुतलीबजार नगरपालिकाबाट प्रतिनिधित्व गर्न सफल तिन जना खेलाडीलाई पुस महिनामा हुने १६ औ नगरसभामा सम्मान गर्नेगरी निर्णय भएको हो ।
आगामी जनवरी १८ देखि फेव्रुअरी २ सम्म मलेसियामा हुने विश्वकप खेल्ने अवसर पाएका स्याङ्जामा तीन महिला क्रिकेट खेलाडीलाई नगरपालिकाले आउँदो नगरसभामा नगद सहित सम्मान गर्ने निर्णय भएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।
अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा स्याङ्जाको पनि पुतलीबजार नगरपालिकाबाट प्रतिनिधित्व गर्दे उपाधी जितेर जिल्ला सहित नगरको पहिचान बनाएकोमा नगरप्रमुख रेग्मीले खुशी ब्यक्त गरेका छन् ।
कात्तिक १९ गतेबाट २९ सम्म युएईमा भएको यु–१९ विश्वकपका छनोटमा उपाधि विजेता मध्ये पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सिमाना केसी र कुसुम गोदार रहेमा छन् ।
उपाधि जितेका महिला क्रिकेट खेलाडीको हौसला बढाउन बिभिन्न पालिका, संघसंस्था लगायतले सम्मानको आयोजनाको घोषणा एवं सम्मान गर्दै आएका छन् ।