स्याङ्जा १० असार ।
स्याङ्जा १० असार । चापाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । चापाकोट नगरपालिकाका नगर प्रमुख देव वहादुर खाँण ईश्वरले प्रस्तुत नीति तथा कार्यक्रममा चापाकोटको पूर्वाधार निर्माणमा विशेष जोड दिइएको छ ।
नगरपालिकाले सबै वडादेखि नगरपालिकाको केन्द्र जोड्ने सडकहरुलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
पर्यटन पूर्वाधारको रुपमा विकास गरी आन्तरिक पर्यटक भित्राउने लक्ष्य अनुरुप पाकरी खोला, मुकुन्दे खोला र खोरीयाघाँटमा जलासय निर्माण गर्नको लागि विस्तृत अध्ययन प्रतिवेदन तयारी गरी कार्यान्वयनको प्रक्रियामा अगाडि बढाइने योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकाको मुख्य बजार क्षेत्रहरुमा सवारी दुर्घटना र चोरी लुटपाट जस्ता घटनाहरु नियन्त्रण गर्नको लागि सिसि क्यामेरा जडान, नगरक्षेत्रभित्रका स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्नको लागि चापाकोट नगरपालिकाभित्र रहेको सहकारीहरुको छाता सगठनसँगको सहकार्यमा कृषि एम्बुलेन्सको माध्यमबाट बजारीकरण गर्ने नीति लिइएको नगर प्रमुख खाँणले प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्वास्थ्यको विकासका लागि चापाकोट नगर अस्पतालको स्तरोन्नती, शिक्षाको विकासका लागि चापाकोट कृषि क्याम्पस, चापाकोट क्याम्पसलाई आवश्यक बजेट व्यवस्थापन गर्ने नीति लिइएको खाँणले जानकारी दिएका छन् ।