स्याङ्जा १६ असार । सरकारले ६ महिनाभित्र सक्नेगरी भू–उपयोग ऐन २०७६ कार्यान्वयन गराउन भन्दैे गत जेठ २३ गते नियमावली ल्यायो । तर सरकारले तोकेको समय सीमा सकिइसक्दा स्याङ्जाका तिनवटा पालिकाले मात्र जग्गाको वर्गिकरण सकेका छन् ।
पाँचवटा नगरपालिका र छ वटा गाँउपालिका रहेको स्याङ्जामा वालिङले सरकारले दिएको समय सिमा भित्र आंशिक वडाहरुको कित्ताकाट सुरु गरिएको थियो भने वाँकी वडाहरुको क्रमश सुरु गर्दै आएको छ । वालिङ पछि कालीगण्डकी गाँउपालिकाको कित्ताकाट सुरु भएको छ ।
भू–उपयोग ऐन –२०७६, भू–उपयोग नियमावली –२०७९ र कालीगण्डकी गाउँपालिकाको भूू–उपयोग क्षेत्र वर्गिकरण सम्बन्धी मापदण्ड तथा आधारहरू –२०७९ अनुसार गाँउपालिकाले जग्गाहरुको वर्गिकरण गरेपछि कित्ताकाट सुचारु भएको हो ।
गाउँपालिका भित्र रहेका ६० हजार ५ सय ५४ वटा कित्ताहरूको वर्गिकरण गर्ने काम सम्पन्न गरेपश्चात शुक्रवार मालपोत कार्यालय र नापी कार्यालयमा विवरण वुझाइएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए ।
पालिकाले यही असार ५ गते स्थानीय राजपत्र (खण्ड ७, संख्या १) मा वर्गिकरणका विवरण प्रकाशित गरिएको थियो । भोली आइतवारवाट कालीगण्डकी गाँउपालिकाको कित्ताकाट पूर्णरुपमा सुचारु हुने जानकारी दिए ।
कालीगण्डकी गाँउपालिकामा कुल ६० हजार पाँच सय ५४ कित्ता रहेकोमा ४४ हजार नौ सय ४९ वटा कित्ताहरूमा रहेका जग्गा कृषि, १३ हजार छ सय ३ आवासिय, पाँच सय ३० व्यवसायिक, ८५ वटा कित्ता बन, नदी खोला ताल र सिमसार गरी चार सय ८२, सांस्कृतिक तथा पुरातात्विक २५, सार्वजनिक ८ सय २८, औद्योगिक क्षेत्रका लागि उपयुक्त जमिन समेटिएका ५२ वटा कित्ता रहेको पाण्डेले जानकारी दिए ।
गाँउपालिकाले गग्गा वर्गिकरण सम्पन्न गरेर विवरण मालपोत र नापी कार्यालयमा वुझाएपछि सम्बन्धित जग्गाधनिहरूले आफ्नो सक्कल जग्गाधनी पूर्जा लिई मालपोत कार्यालय वालिङबाट स्रेस्ता अद्यावधिक गराउन सूचना गरिएको समेत प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए ।
गाँउपालिकाले आफ्नै जनशक्ति वाट छ महिनामा जग्गाको वर्गिकरण गर्ने काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । गाँउपालिकाले आगामी वर्षवाट जग्गाको बर्गिकरण जसरी गरिएको छ त्यही अनुरुप योजना गराइने जानकारी दिए ।
एउटा प्रयोजनमा वर्गीकरण गरिएको जग्गा अर्को प्रयोजनबाट उपयोग गर्न नपाउने गरी स्थानीय आवश्यकता हेरेर स्थानीय सरकारले जग्गालाई १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था छ । तर स्थानीयतहले वर्गीकरणको काम समयमै नसक्दा यसको मारमा आमनागरिक परेका छन् भने राजश्व संकलनमा पनि प्रत्यक्ष असर परेको छ ।
जिल्लाका वालिङ र कालीगण्डकी गाँउपालिकाले कित्ताकाट सुचारु गरेको र भीरकोटको समेत सानो समस्या आएर सुरु हुन नसकेको उक्त समस्या समाधान भएपछि केही दिनमै सुरुहुने मालपोत कार्यालय वालिङका सूचना अधिकारी जिवनाथ पौडेलले जानकारी दिए ।