प्रदिप कोइराला
हिमदुत, २ भदौ ।
शिक्षा नियामावलीको धज्जी उडाउदै स्याङ्जा जिल्लाकै पुरानो वालिङ बहुमुखी क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरुले पहुँच र पदको दुरूपयोग गरेर एकै समयमा दुई संस्थामा त्यो पनि पूर्ण दरबन्दीमा रहेर दोहोरो सुविधा खाएको विषय यतिवेला वालिङमा चर्चाको विषय बनेको छ ।
सरकारी र अर्ध सरकारी संस्थाहरूमा पूर्णरूपमा दरबन्दीमा रहेर एकै समयमा दुई संस्थामा नियुक्ति लिएर दोहोरो सुविधा लिने प्राध्यापकलाई हटाउन सन्चालक समितीमा विषय प्रवेश भएको थियो । सोही विषयलाई लिएर एक जना संचालक समितीका सदस्यले आफ्नो सामाजिक संजालमा क्याम्पसको वेथिती र आर्थिक संकट आइपर्नुमा दोहोरो सुविधा प्रमुख कारण रहेको उल्लेख गरेका थिए ।
शिक्षा नियमावलीमा दोहोरो सुविधा लिन नपाइने उल्लेख छ । नियमावली विपरित वालिङ क्याम्पसका ११ जना प्राध्यापकले दोहोरो सुविधा लिने गरेका छन् । दोहोरो सुविधा मात्र होइन दशै भत्ता वापतको रकम पनि दुबै संस्थावाट लिने गरेको तथ्य खुलेको छ ।
दोहोरो सुविधा लिने प्राध्यापकहरुमा यामवहादुर कुँवर, छविलाल अर्याल, तेजवहादुर आले, तोयानाथ कोइराला, गोपालधन सुवेदी, पदमपानी काफ्ले, विनोद खनाल, अमृत खनाल, टोलप्रसाद लुईटेल, खेमराज देवकोटा, चिरन्जिवि अर्याल लगायत छन् । उनीहरु सबै सरकारी विद्यालयका प्रधानाध्याकदेखि स्थायी शिक्षक हुन् । एकजना देवकोटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
लामो समयसम्म कोभीडको कारण क्याम्पस बन्द, अनावश्यक आर्थिक भारका कारण यतिवेला वालिङ क्याम्पस झण्डै साढे दुई करोड घाटामा रहेको छ । क्याम्पसको यथार्थ सन्चालन घाटा र दोहोरो सुविधा वापत प्राध्यापकहरुले खाइपाइ आएको सुविधा समेत हामीले क्याम्पस प्रशासनसंग माग गरेर उहाँहरुको फोटो र कार्यरत विद्यालयको विवरण सहित सार्वजानिक गर्ने छौ ।
क्याम्पस भित्र राजनैतिक आडमा यी प्राध्यापकहरुले दोहोरो सुविधा लिने गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । दोहोरो सुविधाको विषयमा विगतमा पनि कुरा उठेपनी राजनैतिक संरक्षणकै आडमा प्राध्यापकहरुको हालीमुहाली यथावत रहेको उनीहरुको भनाइ छ । दोहोरो सुविधा लिने प्राध्यापक नहटाउँदा सम्म क्याम्पसको आर्थिक र शैक्षिक सुधान नहुने उनीहरुको दावी छ ।
क्याम्पस सन्चालक समितीका सदस्य प्रकाश अर्यालले आफ्नो सामाजिक संजाल फेसवुकमा वालिङ क्याम्पसको विषयमा यसरी आफ्नो धारणा राखेका थिए ।