स्याङ्जा, २६ साउन /
वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ १३ स्थित गहाखोलाको भित्री सडकमा उनी मृत अवस्थामा फेला परेका हुन् । सिद्धार्थ राजमार्ग भन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।
ग १६ प ५४६१ नं को स्कुटर सहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका थिए । गएराति देखि घरपरिवारसँग उनी सम्पर्कमा नरहेपछि विहानवाट परिवारले उनको खोजी गरेको वुझिएको छ ।
घटनास्थलवाट उनको शव वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि पठाईएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले बताए । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
स्थलगत घटनाको आधारमा यो दुर्घटना नभएको स्थानीयबासीको भनाई छ । घटनावारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । घटनास्थलमा उनको हत्या, आत्महत्या वा दुरुत्साहनवारे सत्य तथ्य वाहिर ल्याउन प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेका छन् ।
श्रेष्ठ २०७४ को स्थानिय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।