हिमदुत सम्वाददाता, ३ फागुन ।
भीरकोट नगरपालिका वडा नं ५ सिम्ले निवासी स्वर्गीय अंकित सिंह ठकुरीको नवौं पुण्य तिथिको अवसरमा स्याङ्जा सहयोग समाज पोर्चुगलले संकलन गरिएको रकम रु आठ लाख रुपैयाँ परिवार लाई हस्तान्तरण गरिएको छ ।
गत माघ १६ गते वैदेशीक रोजगारीमा पोर्चुगलमा कार्यरत अंकितको एक्कासी हृदयघात भई मृत्यू भएको थियो । उनको मृत्यू पश्चात् शव नेपाल पठाउने देखि परिवारलाई सहयोग संकलन स्याङ्जा सहयोग समाज पोर्चुगलले गरेको थियो ।
यस अघिका वर्षहरूमा पनि विभिन्न समस्यामा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्दै आएको स्याङ्जा सहयोग समाज पोर्चुगलको सक्रियतामा संचालित सहयोग रकम संकलन अभियानमा स्याङ्जा सहयोग समाज स्पेन,फ्रान्स,बेल्जियम,नेदरल्याण्ड,एनआरएनए पोर्चुगल लगायतका संस्थाबाट संकलित रकम मध्ये करिब ५ लाख रुपैयाँ शव पोर्चुगल बाट काठमाडौं सम्म ल्याउनका लागि खर्च गरिएको र बाँकी रकम रु आठ लाख परिवारलाई हस्तान्तरण गरिएको थियो।
संकलित रकम हस्तान्तरण कार्यक्रममा रकम हस्तान्तरण गर्दै भीरकोट नगर प्रमुख छायाराम खनालले ठूलो मेहनत बाट संकलित रकमको सही ठाउँमा सदुपयोग गर्न परिवारजनमा अनुरोध गर्दै शोकाकुल परिवार तथा इष्टमित्र मा समवेदना तथा दिवंगत आत्माको चीर शान्तिको कामनाका साथै सहयोगी व्यक्तिहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन ।
उक्त कार्यक्रम मा भीरकोट नगर उप प्रमुख सीमा कर्माचार्य,भीरकोट ५ वडा अध्यक्ष एवम् नेपाली कांग्रेस भीरकोट सभापति याम प्रसाद अधिकारी, वालिङ्ग उद्योग वाणिज्य संघ का सचिव धुर्ब खाँड,स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका सचिव मिन क्षेत्री, स्याङ्जा सहयोग समाज पोर्चुगलका सल्लाहकार विपिन अर्याल लगायतका व्यक्तिहरूले समवेदना तथा श्रद्धान्जली प्रकट गरेका थिए ।
कार्यक्रमको सञ्चालन भीरकोट जेसिजका अध्यक्ष कृष्ण प्रसाद पौडेलले गरेका थिए ।