स्याङ्जा, १३ भदौ ।
स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वाडनं १४ की ४० वर्षीया धनमाया उम्रा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
आइतवार अपरान्ह ४ बजे गल्याङ नगरपालिका वाड नं १ राम्दीमा ५० मिटर माथिवाट आएको पहिरोले तिनवटा घरमा क्षति पुगेको छ । अविरल वर्षाका कारण आएको पहिरोवाट अन्य तिन जना घाइते भएका छन् । घाइते हुनेमा गुल्मी छत्रकोट गाउँपालिका–५ की ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना नगरपालिका–१ का १६ वर्षीय शिशिर योगी र स्याङ्जा भिरकोट नगरपालिका–५ का ३६ वर्षीय नारायण प्रसाद तिवारी रहेका छन् ।
उनीहरुको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिएका छन् ।
पहिरोले स्थानीय दिपेन्द्र श्रेष्ठ र लक्ष्मी बस्नेतको घर क्षति पुगेको छ भने सोही ठाँउकी सिता परियारको घरमा हिलो माटो र ढँुगाका कारण क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको पहिरो हटाउन केही समय लाग्ने भएकाले हाल अवरुद्ध रहेको समेत प्रहरीले जानकारी दिएको छ ।
वर्षा नरोकिएका कारण सम्भावित पहिरोको जोखिम कायमै रहेका कारण त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको समेत प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।