स्याङ्जा, ५ भदौ ।
कोरोना महामारीको महासंकटवाट नेपालमा शिक्षा क्षेत्रमा नराम्रो प्रभाव पारेकाले बैकल्पिक शिक्षाको नयाँ मोडेलको रुपमा गण्डकी प्रदेश सरकारले अफलाईन एप्सको माध्यमवाट विद्यार्थीहरुको पठन पाठन नियमित गराउन अफलाईन एप्सको औपचारिक सुरुवात गरेको छ ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले आफ्नो जन्म दिनकै दिन आफूले वाल्यकालमा अध्ययान गरेको भीरकोट नगरपालिका २ स्थित को दहथुम माविका बालबालिकाका लागि अनलाईन अफलाईनमा आधारित वैकल्पीक सिकाई सामाग्री परीक्षण कार्यक्रम तथा अफलाईन मोबाइल एपको डेमो परिक्षणको शनिवार औपचारिक उदघाटन गरेका छन् ।
एप्सको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले ब्यवहारिक र भुगोल सुहाउदो शिक्षा अहिलेको पहिलो आवश्यकता रहेको बताएका छन् । शिक्षा मन्त्रालयले वैकल्पिक शिक्षा पद्धतिलाई नै सिकाइको मूल आधार मानी शैक्षिक गतिविधि सञ्चालन गर्न अफलाईन एप्स प्रभावकारी हुने उनको धारणा थियो ।
कोरोना संक्रमणको जोखिमका कारण भौतिक रुपमा कक्षा नहुने साथै अनलाइन एजुकेसनमा सबैको पहुँच नपुग्ने भएका कारण नयाँ प्रविधीको विकल्पको रुपमा अफलाइन एजुकेसन प्रणालीलाई प्रभावकारी मानिएकाले यो प्रविधिको प्रयोग गरी शैक्षिक क्रियाकलाप सुचारु गर्न जिल्लाका सबै विद्यालयहरुलाई आग्रह गरेका छन् ।
मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकास विना विकास र समृद्धी सम्भव नरहेको वताउदै आत्मनिर्भर हुनेगरी ब्यवसायीक शिक्षामा जोड दिन आग्रह गरेका छन् । कोरोनाको कहरले शिक्षालाई पछाडी धकेलेको अवस्थामा अफलाईन प्रबिधि अत्यन्त उपयोगी रहेकोले आफु निरन्तर लागि परेको जानकारी दिए ।
दहथुमबाट शुरुवात गरेको बैकल्पिक शिक्षा गाउँ केन्द्रित गरेको र शिक्षाबाट कुनै पनि बालबालिका बन्चित नहुन भन्ने आफनो मुल उद्देश्य रहेको जानकारी गराए ।
प्रज्ञान दृष्टी एजुकेशन प्रा.लिको सहयोगमा एप्स निर्माण गरीएको हो । उक्त एप सफल भएमा विद्यार्थीले पाठ्यपुस्तक इन्टरनेटबिनै पढ्न पाउने छन् ।
कार्यक्रममा भीरकोट नगर प्रमुख छायाराम खनालले सफल परिक्षण भएका भीरकोटका सबै बिद्यालयमा अफलाईन प्रविधि प्रयोग गर्ने प्रतिबद्धता जनाउदै मन्त्री श्रेष्ठले शिक्षामन्त्री भएपछि शिक्षा नीति र अफलाईन एप जस्ता प्रभावकारी कार्यक्रम ल्याएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षा निर्देशक अम्बिका आचार्य, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, भीरकोट नगरउपप्रमुख सीमा केसी कर्माचार्य, सूचना प्राबिधिक देवेन्द्र पौडेल, शिक्षिका इन्दिरा केसी, छात्रा प्रतिक्षा थापा लगायतले एपको सहज प्रभावकारिताका बारेमा जोड दिएका थिए ।
दहथुम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक वेदप्रसाद अर्यालले स्वागत एवं शिक्षक शेषकान्त पौडेलले संचालन गरेका थिए ।
विद्यार्थीले मोबाईलमा अफलाईन एप्स खोलेपछि कक्षा आउने, बिषय आउने र अफलाईन पढाई गर्न सक्नेगरी बैकल्पिक सिकाई एवं पढाईको ब्यवस्था मिलाइएको छ ।
यस विद्यालयमा परीक्षण प्रभाकारी भएमा प्रदेश भित्रका एक हजार ४४८ वटा बिद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका तीन लाख ६४ हजार चार सय बिद्यार्थी लाभान्वित हुनेगरी प्रविधिको विस्तार गर्ने बताइएको छ ।