वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै बहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरणको सुभारम्भ गरिएको हो । जिल्ला प्रशासन कार्यालयबाट मात्र पाइने गरेको परिचयपत्र अबदेखि इलाका प्रशासनवाट राष्ट्रिय परिचयपत्रसँगै मतदाता परिचयपत्र समेत बनाउन सुरु गरिएको इलाका प्रशासन कार्यालय वालिङ प्रमुख नबराज बरालले जानकारी दिए ।
नागरिकलाई राष्ट्रिय परिचय नम्बर र बायोमेट्रिक प्रविधि सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको हो । सरकारले वितरण शुरु गरेको राष्ट्रिय परिचयपत्रमा नागरिकका व्यक्तिगत र जैविक सुचना संकलन गरिने हुँदा यसलाई बहुउपयोगी मानिएको इलाका प्रशासन कार्यालयका प्रमुख वरालले जानकारी दिए ।
उनका अनुसार एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटो सहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झण्झट नहुँने बताए।
राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुने भएकाले सबै नागरिकलाई अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र बनाउन वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणको आग्रह छ।
जिल्लाको मध्यभागमा रहेको वालिङ इलाकाबाटै परिचयपत्र पाईने भएपछि आधा जसो जनसंख्यालाई स्याङजा सदरमुकाम स्थित जिल्ला प्रशासन जानुपर्ने वाध्यता हटेको छ। सेवाग्राहीलाई आधा बाटो छोटिनुका साथै छितो, छरितो र कम खर्चमा परिचयपत्र उपलब्ध हुने भएको छ।