वालिङ, २६ साउन ।
वालिङ नगरपालिकाले हालसम्म २ सय ५६ खरका छाना विस्थापित गरी जस्ता पाता लगाइएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाईएको हो ।
वलिङ नगर कार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷०७७ देखि कार्यान्वयनमा आएको यो अभियान अन्तर्गत हालसम्म २५६ खरका छाना हटाएर जस्तापाता लगाईएको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।
स्वास्थ्यका दृष्टिले जस्ता पाता भन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको संभावना तथा छाना छाउने दक्ष कामदारको अभावका कारण नगरपालिका तथा सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत जस्तापाता लगाईएको नगर प्रमुख खाँणले जानकारी दिए ।
छाना विस्थापनका लागि माग भई आएका नागरिकहरुलाई आवश्यक प्रक्रिया पूरा गरी जस्तापाता वितरण गर्ने र वालिङलाई खरका छानारहित बनाउनका लागि बाँकी रहेका घरहरुलाई यसैवर्षमा सम्पन्न गर्ने गरी कार्यक्रम अगाडि सारेको नगर प्रमुख खाँणले बताए ।
वालिङ नगरपालिकामा हालसम्म खरको छाना विस्थापनका लागि ४ सय ३१ घरले आवेदन दिएकामध्ये सुरक्षित नागरिक आवासका कार्यक्रमकालागि २ सय ५४ मध्ये २ सय ४० घरधुरीले मात्रै सम्झौता गरेर निर्माण थालेको नगरपालिकाले जनाएको छ । कार्यक्रम अन्तरर्गत लाभग्राहीले दुइ किस्तामा ५० हजार पाउने नगरपालिकाले जनाएको छ ।
सुरक्षित नागरिक आवासका लागि सम्झौता भएका २ सय ४० घरमध्ये हालसम्म १ सय ६ घरले दोस्रो किस्ता निर्माण सकेपछि लगेका छन् । हालसम्म वालिङ नगरपालिकाबाट हालसम्म १ सय ५० घरले रु. ७५ लाख बराबरको जस्तापाता लगेका छन् भने सुरक्षित नागरिक आवास कार्यक्रममार्फत १ सय ६ घरले रु. ५० हजार रकम बुझेका नगर प्रमुखको स्वकीय सचिव छवि आलले जानकारी दिए । नगरपालिकामा आवेदन दिएका ४ सय ३१ घरमध्ये १ सय ७५ घरहरु निर्माण हुन बाँकी रहेका छन् । प्रति घर लाई रु. ५० हजारका दरले हालसम्म रु. एक करोड २७ लाख खर्च भएको आलेले जानकारी दिए । नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ बाट शुरुआत गरेको अभियानमा गत आर्थिक वर्षबाट सुरक्षित नागरिक आवास कार्यक्रममार्फत सहयोग भएको हो ।
१४ वटा वडा रहेको नगरपालिकाका वडा नं. २ मा ३, ३ मा ४८, ४ मा ५२, ५ मा ३९, ६ मा २१, ७ मा ४८, ८ मा २८, ९ मा ६, १० मा १५, ११ मा ९, १२ मा ५६, १३ मा १७ र १४ मा ८९ घरहरुले खरका छाना विस्थापनका लागि नगरपालिकामा आवेदन दिएका थिए ।